गैर-दलीय पेशेवरहरू र राजनीतिक नवप्रवेशीहरूले स्थापना गरेको एउटा पार्टीले चार वर्षभन्दा कम समयमा झण्डै दुई तिहाइ संसदीय बहुमत हासिल गर्नु र विश्वकै सबैभन्दा कान्छा प्रधानमन्त्री निर्वाचित गराउनु सामान्य राजनीतिक घटना होइन। त्यसैले नेपालमा के भइरहेको छ र देश कता जाँदैछ भन्ने विषयमा विश्वव्यापी चासो हुनु स्वाभाविक हो। एक हजार माइलभन्दा लामो खुला सीमाना साझेदारी गर्ने छिमेकी भारतका लागि त यो चासो झनै स्वाभाविक हो।
नेपालको यो परिवर्तनको कथा सडक हिंसा, सैनिक ‘कु’, विदेशी हस्तक्षेप वा संवैधानिक रिक्तताबाट होइन, बरु शान्तिपूर्ण र लोकतान्त्रिक ‘मतपेटिका क्रान्ति’बाट लेखिएको हो। विश्वका धेरै समाजहरू ध्रुवीकरण, सत्ताप्रति अविश्वास र भ्रष्ट राजनीतिबाट पीडित भइरहेका बेला नेपालले लोकतन्त्र अझै पनि परिवर्तनको प्रभावकारी माध्यम हो भन्ने प्रमाणित गरेको छ। आजको नेपाल अनिश्चित भविष्यतर्फ होइन, समृद्ध र जीवन्त लोकतन्त्रको आकांक्षी यात्रातर्फ अघि बढिरहेको छ।
हाम्रा मूल सिद्धान्त सरल छन्—कडा सुशासन र जनताप्रति प्रत्यक्ष उत्तरदायित्व, जसलाई विकासमार्फत सुनिश्चित गरिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) नेपालको नयाँ राजनीतिक यथार्थ हो—एक युवा शक्ति जसले जर्जर राजनीतिक संरचनालाई चुनौती दिएको छ। यसले युवापुस्तालाई परिणाममुखी राजनीतिमा जोड्दै देशका लागि फरक दृष्टिकोण प्रस्तुत गरेको छ। हामीलाई थाहा छ, हामीले पाएको मत आक्रोश र आशाको मिश्रण हो—परिवर्तनको अभूतपूर्व जनादेश।
हामीसँग विदेश नीति परिवर्तन गर्ने सबैभन्दा ठूलो पूँजी छ—हामी अतीतका बोझबाट मुक्त छौं। हामी पुराना द्वन्द्व वा असन्तोषले बाँधिएका छैनौं। हामी भारत र विश्वलाई खुला मन, स्पष्ट दृष्टि र पारदर्शी एजेन्डासहित हेर्छौं—नेपालको आर्थिक रूपान्तरण।
नेपाल र भारत केवल दुई देश मात्र होइनन्, हामी साझा सभ्यताका साझेदार हौं। रामको कथा जनकपुर र अयोध्या जोडिँदा मात्र पूर्ण हुन्छ। आस्था पशुपतिनाथ र केदारनाथ जोडिँदा मात्र साकार हुन्छ। लुम्बिनी र बोधगया जोडिँदा मात्रै हाम्रो सभ्यताको आधार पूर्ण हुन्छ। तर, हामी आत्मसन्तुष्टिमा रमाउने विलासिता चाहँदैनौं। सम्बन्धले के गर्यो भन्नेभन्दा पनि के गर्न सक्थ्यो र अब के गर्न सक्छ भन्नेमा ध्यान दिन चाहन्छौं।
सीमाना होइन, अर्थतन्त्र जोड्ने
भारतले पछिल्ला दशकहरूमा आफूलाई नयाँ रूपमा परिभाषित गरेको छ। प्रशासनिक जटिलताबाट मुक्त हुँदै विश्वकै ठूलो र तीव्र गतिमा बढ्दो अर्थतन्त्र बनेको छ। हामी त्यसको सम्मान गर्छौं र विकासका साझेदार बन्न चाहन्छौं।
भारत दैनिक १५ किलोमिटर रेलमार्ग विस्तार गरिरहेको बेला रक्सौल–काठमाडौं रेलमार्ग १५० किलोमिटरभन्दा कम दूरीको छ। त्यो रेलमार्ग बनेको दिन व्यापार, पर्यटन र क्षेत्रीय कनेक्टिभिटीमा क्रान्ति आउनेछ।
हामी केवल दिल्लीतर्फ होइन, भारतका विभिन्न राज्यहरूको प्रगतिबाट पनि सिकिरहेका छौं। भारतको उड्डयन क्षेत्रजस्तै पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुसँग सिधा उडान किन नहुने? काठमाडौँ–बेंगलुरु डिजिटल कोरिडोर किन नबनाउने? गुजरातको औद्योगिक विकासबाट प्रेरणा लिएर सीमावर्ती क्षेत्रमा मल कारखाना किन स्थापना नगर्ने?
हामी नेपालमा IIT र AIIMS जस्ता संस्थाहरू चाहन्छौं। भारतका IT कम्पनी, स्टार्टअप र विश्वविद्यालयहरूलाई नेपालमा नवप्रवर्तन केन्द्र स्थापना गर्न आमन्त्रण गर्छौं।
विकास–केन्द्रित कूटनीति
हामी नेपाल–भारत सम्बन्धलाई भू–राजनीतिक तनावबाट हटाएर विकास–कूटनीतिमा केन्द्रित गर्न चाहन्छौं। कूटनीतिक संयन्त्रलाई लगानी, व्यापार र आर्थिक साझेदारीका इन्जिन बनाउन चाहन्छौं। नेपालको जलविद्युत् क्षमता भारतको औद्योगिक विकासका लागि स्वच्छ ऊर्जा स्रोत बन्न सक्छ। सीमापार व्यापारलाई डिजिटल र सहज बनाउनुपर्छ। आधुनिक एकीकृत जाँच चौकी र यातायात मार्गहरू आवश्यक छन्। जनकपुर, लुम्बिनी र बोधगया जोड्ने पर्यटन सर्किट निर्माण गर्नुपर्छ। हामीले IPL हेर्ने मात्र होइन, नेपाली खेलाडी र रंगशालालाई पनि त्यसमा समेट्ने सोच बनाउनुपर्छ।
विश्वासको आधार निर्माण
नेपाल–भारत सम्बन्धको आधार विश्वास हुनुपर्छ। विवादलाई थाँती राखेर मित्रता सम्भव हुँदैन। ऐतिहासिक तथ्य र पारस्परिक समझदारीका आधारमा समाधान खोज्नुपर्छ। हामी अतिराष्ट्रवादी भाषणभन्दा प्रमाणमा आधारित संवादमा विश्वास गर्छौं। स्थिर र समृद्ध नेपाल भारतका लागि पनि रणनीतिक रूपमा महत्वपूर्ण छ। अस्थिर नेपालले छिमेकीलाई चिन्तित बनाउँछ।
ऐतिहासिक अवसर
इतिहासले सधैं अवसर दिँदैन, तर अहिले—२०२६—नेपाल–भारत सम्बन्ध पुनः परिभाषित गर्ने सुनौलो समय हो। विगत ३० वर्षको अस्थिरता अब इतिहास बनेको छ। अहिले जनताले पेशेवर नेतृत्व रोजेका छन्। अगस्ट ३, २०१४ को दिनलाई सम्झौं, जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल संसदलाई सम्बोधन गर्दै सीमालाई अवरोध होइन, पुल बनाउने दृष्टिकोण प्रस्तुत गरेका थिए। धेरै पानी बगिसकेको छ, तर नदीहरूजस्तै हामी पनि आफ्नो बाटो बनाउनेछौं। अब हामीले पुराना मतभेदभन्दा नयाँ सम्भावनालाई प्राथमिकता दिनुपर्छ। हामी ईमानदारी र व्यवहारिकतासहित नयाँ पुल निर्माण गर्न तयार छौं—जहाँ साझा भविष्यका असीम सम्भावनाहरू खुल्नेछन्।
(रास्वपा सभापति रवि लामिछाने भारतीय जनता पाटीको निमन्त्रणमा भारत गएको समय हिन्दुस्तान दैनिकमा उनले लेखेको लेखको सार अंश । )


