परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार भारतको राजधानी नयाँ दिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता सम्पन्न भएको छ। नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँदिल्लीले जनाएको छ।
राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार वार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल विस्तार, ऊर्जा साझेदारी तथा जलस्रोत व्यवस्थापनजस्ता महत्वपूर्ण विषयमा गहन विचार आदानप्रदान गरिएको थियो। दुवै देशका मन्त्रीहरूले नेपाल–भारत सम्बन्धको समग्र अवस्थाको समीक्षा गर्दै दीर्घकालीन साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलका क्रममा दुई देशबीच सञ्चालनमा रहेका विभिन्न द्विपक्षीय परियोजनाहरूको प्रगति अवस्थाबारे पनि समीक्षा गरिएको थियो। ती परियोजनाहरूको कार्यान्वयनलाई थप तीव्रता दिने उपायबारे दुवै पक्षबीच सकारात्मक संवाद भएको जनाइएको छ। विशेष गरी पूर्वाधार विकास, ऊर्जा आदानप्रदान तथा यातायात सञ्जाल विस्तारलाई प्राथमिकतामा राखिएको थियो। त्यसैगरी, खेलकुदमार्फत जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्ने विषयसमेत वार्ताको महत्वपूर्ण एजेन्डाका रूपमा उठाइएको थियो। दुई देशका नागरिकबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सांस्कृतिक तथा सामाजिक आदानप्रदानलाई विस्तार गर्ने विषयमा पनि सहमति भएको बताइएको छ।
वार्तामा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका विषयमा समेत छलफल भएको थियो। बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई अझ प्रभावकारी बनाउने, साझा चासोका मुद्दामा एकअर्कालाई सहयोग गर्ने विषयमा दुवै पक्षले सहमति जनाएका छन्।
तीन संयुक्त घोषणा
१.सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा दुवै देशले नेपाल र भारतबीच व्यक्ति–व्यक्तिबीच हुने सीमापार डिजिटल भुक्तानी प्रणाली सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।
यो व्यवस्था सन् २०२३ जुनमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया बीच भएको समझदारीपत्र अन्तर्गत कार्यान्वयनमा आएको हो।
यसले भविष्यमा नेपाल र भारतबीच डिजिटल कारोबारलाई थप सहज, छिटो र औपचारिक बनाउने अपेक्षा गरिएको छ ।
२.भूकम्पपछिका ८४ पुनर्निर्माण परियोजना हस्तान्तरण भारत सरकारको विकास सहयोगमा नेपालमा निर्माण गरिएका ७२ वटा स्वास्थ्य क्षेत्रका तथा १२ वटा सांस्कृतिक क्षेत्रका गरी कुल ८४ पुनर्निर्माण परियोजना नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरिएको छ।
यी परियोजनाहरू भूकम्पपछिको पुनर्निर्माण कार्यक्रम अन्तर्गत निर्माण गरिएका हुन् । परियोजना हस्तान्तरणसँगै स्वास्थ्य सेवा तथा सांस्कृतिक सम्पदाको पुनःस्थापनामा भारतको सहयोगले औपचारिक पूर्णता पाउने भएको छ।
३. एआई र भाषा रुपान्तरण प्रविधिमा सहकार्यको सहमति भएको छ ।
काठमाडौं विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ अन्तर्गतको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एण्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिणी डिभिजन’ बीच समझदारीपत्र आदानप्रदान गरिएको छ।
यो सहकार्य ‘भ्वाइस फर्स्ट’ भन्ने भाषा अनुवाद गर्ने प्लेटफर्म निर्माणका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकास गर्ने उद्देश्यले गरिएको हो । यसले नेपाली भाषासहित विभिन्न भाषामा एआईमा आधारित अनुवाद प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शुक्रबार भारत भएका परराष्ट्रमन्त्री खनाल आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको राजदूतावासले जनाएको छ ।


