Banijya News

आत्मदाहको प्रयास गरेका ब्यावसायी आश्विन राउतको निधन

1
1.1K Shares

काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ५० वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। गम्भीर रूपमा घाइते भएका राउतको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेका बेला शनिबार अपराह्न मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। यस घटनाले परिवार, आफन्त, व्यावसायिक क्षेत्र तथा सामाजिक वृत्तमा गहिरो शोक छाएको छ।

प्रहरीका अनुसार शनिबार बिहान करिब ६:२० बजे राउतले आफ्नै घरको भान्सामा शरीरमा आगो लगाएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर तत्काल उद्धार गरेको थियो। त्यसपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरूको टोलीले निरन्तर उपचार गरे पनि उनको अवस्था अत्यन्तै गम्भीर रहेका कारण ज्यान जोगाउन सम्भव नभएको चिकित्सकहरूले बताएका छन्।

उपचारमा संलग्न चिकित्सकका अनुसार राउतको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। आगोले शरीरको धेरै भागमा गम्भीर असर पुर्‍याएकाले उपचार निकै चुनौतीपूर्ण बनेको थियो। आवश्यक सबै चिकित्सा प्रयास गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन नसकेपछि उपचारकै क्रममा उनको निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार राउत केही समयअघि भारतमा नशा तथा हड्डीसम्बन्धी रोगको उपचार गराएर नेपाल फर्किएका थिए। उपचारपछि चिकित्सकको सल्लाहअनुसार उनी लामो समयदेखि बेड रेस्टमा थिए। अपेक्षाअनुसार स्वास्थ्यमा सुधार हुन नसकेपछि उनी पछिल्ला केही दिनदेखि मानसिक तनावमा रहेको परिवारले जनाएको छ।

यस घटनापछि सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा व्यापारमा आएको मन्दी, आर्थिक समस्या र घरायसी विवादका कारण उनले यस्तो कदम चालेको भन्ने चर्चा भए पनि परिवारले ती सबै दाबीलाई अस्वीकार गरेको छ। परिवारका सदस्यहरूले ती समाचारहरू वास्तविकतामा आधारित नभएको स्पष्ट पारेका छन्।

राउतका नातामा काका पर्ने पूर्वसांसद विष्णुबहादुर राउतले आश्विन राउत आर्थिक संकट वा पारिवारिक विवादका कारण तनावमा नरहेको बताए। उनका अनुसार स्वास्थ्य समस्याले नै उनलाई मानसिक रूपमा निकै प्रभावित बनाएको हुन सक्ने अनुमान गरिएको छ। उनले भने, “समाचारमा उल्लेख गरिएजस्तो आर्थिक मन्दीको दबाब वा घरायसी विवाद थिएन। उनलाई परेको समस्या समाधान गर्न परिवारले अवसर नै पाएन। उनले यस्तो निर्णय किन गरे भन्ने कुरा हामी सबैका लागि अझै रहस्यमै छ।”

प्रहरीले पनि आत्मदाहको प्रयास गर्नुको वास्तविक कारण अझै खुल्न नसकेको जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको र सबै पक्षबाट जानकारी संकलन भइरहेको प्रहरीको भनाइ छ।

व्यवसायिक रूपमा पनि राउत परिचित व्यक्तित्व थिए। उनी लामो समयदेखि निर्माण व्यवसायसँग आबद्ध थिए र सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि सञ्चालन गर्दै आएका थिए। हेटौंडास्थित उक्त उद्योगले तारजाली उत्पादन गर्दै आएको छ। त्यसैगरी उनले दिव्यश्री ट्रेड कन्सर्न प्रालि सञ्चालन गर्दै ‘निओन’ ब्रान्डका होम एप्लायन्सेसको नेपालका आधिकारिक वितरकका रूपमा पनि काम गर्दै आएका थिए। व्यापारिक क्षेत्रसँगै उनी सामाजिक गतिविधिमा पनि सक्रिय थिए। उनी राउत क्षत्री सेवा समाज नेपालको केन्द्रीय अध्यक्षका रूपमा कार्यरत थिए।

सिराहको पक्किटोलमा समेत घर रहेका राउतको पुर्खौली थलो उदयपुरसँग जोडिएको बताइएको छ। उनको असामयिक निधनले परिवार, आफन्त, व्यवसायिक साझेदार तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई स्तब्ध बनाएको छ। प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

पछिल्ला केही दिनयता आत्मदाहका घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्। यसअघि काठमाडौंको त्रिपुरेश्वरमा मुगुका २५ वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको पनि निधन भएको थियो।

यस्तै, शुक्रबार सर्लाहीमा पनि एक पुरुषले आत्मदाहको प्रयास गरेका थिए। उनी हाल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

लगातार भइरहेका यस्ता घटनाले मानसिक स्वास्थ्य, सामाजिक सहयोग प्रणाली तथा संकटमा रहेका व्यक्तिलाई समयमै सहयोग पुर्‍याउने विषयमा गम्भीर बहस आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। प्रहरीले बुद्धनगर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

1

Scroll to Top