वैदेशिक रोजगार विभागले कानुनी प्रावधानविपरीत भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरूमाथि निगरानी कडा बनाएको छ। विभागले अनुमति नलिई विदेशी विमानस्थलमार्फत श्रमिक पठाएको पुष्टि भएपछि १५९ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई पहिलो चरणमा सचेत गराउने निर्णय गरेको जनाएको छ।
विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ ले नेपाली श्रमिकलाई विदेश पठाउँदा स्वदेशकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। विशेष परिस्थितिमा भारत वा अन्य मुलुकको विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागबाट पूर्वस्वीकृति लिनुपर्ने कानुनी प्रावधान रहेको छ। तर केही इजाजतप्राप्त संस्थाले यो प्रक्रिया पालना नगरी भारतीय विमानस्थलमार्फत श्रमिक पठाएको भेटिएपछि कारबाही अघि बढाइएको हो।
यस विषयमा विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरी अध्ययन तथा अनुगमन गरेको थियो। सो अवधिमा सञ्चालनमा रहेका एक हजार ११७ वटा इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ संस्थाले मात्रै विभागलाई मागिएको विवरण उपलब्ध गराएका थिए। विवरण बुझाएका संस्थामध्ये १५९ कम्पनीले विभागको अनुमति नलिई भारतस्थित विमानस्थल प्रयोग गरेको देखिएपछि उनीहरूलाई पहिलो पटक सचेत गराइएको विभागले जनाएको छ।
विभागले विवरण नै नबुझाउने कम्पनीहरूलाई पनि छुट दिएको छैन। माग गरिएको सूचना उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐनको दफा ३७ अनुसारको दायित्व पूरा नगरेको निष्कर्ष निकाल्दै विभागले ती संस्थालाई पनि पहिलो चरणमा चेतावनी दिएको छ। साथै उनीहरूलाई पुनः आवश्यक विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिइएको छ।
यसैबीच, पटक–पटक कानुनी व्यवस्था उल्लंघन गर्ने थप आठ वटा म्यानपावर कम्पनीलाई आर्थिक जरिबाना गरिएको छ। विभागका अनुसार ती कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको हो। जरिबाना गरिएका संस्थामध्ये तीन कम्पनीले पुनः अनुमति नलिई भारतका विमानस्थलबाट श्रमिक उडाएको पाइएको छ भने बाँकी पाँच कम्पनीले विभागको निर्देशनपछि पनि आवश्यक विवरण पेश नगरेको कारण कारबाहीमा परेका हुन्।
वैदेशिक रोजगार विभागले पछिल्लो समय वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र कानुनसम्मत बनाउन अनुगमनलाई तीव्र बनाएको जनाएको छ। विभागका अधिकारीहरूका अनुसार श्रमिकको यात्रा प्रक्रिया सुरक्षित र अभिलेख व्यवस्थित बनाउन कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिनेछ। भविष्यमा पनि अनुमति नलिई विदेशी विमानस्थल प्रयोग गर्ने वा विभागीय निर्देशन बेवास्ता गर्ने संस्थामाथि थप कडा कारबाही गरिने चेतावनी विभागले दिएको छ।
यसअघि विभिन्न म्यानपावर कम्पनीहरूले नेपाली श्रमिकलाई भारतीय विमानस्थल हुँदै गन्तव्य मुलुक पठाउने गरेको गुनासो आएपछि विभागले विशेष निगरानी सुरु गरेको थियो। त्यसकै आधारमा २०८३ असार २६ गते सूचना जारी गर्दै सबै इजाजतप्राप्त संस्थालाई श्रमिक पठाउँदा प्रयोग गरिएको विमानस्थलको विस्तृत विवरण पेश गर्न निर्देशन दिइएको थियो। प्राप्त विवरणको अध्ययनपछि कानुन उल्लंघन गर्ने संस्थाहरू पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइएको हो।
विभागले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीलाई ऐन, नियम र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै श्रमिकको हित, सुरक्षित वैदेशिक रोजगार र सुशासन कायम राख्न सबै पक्षको जिम्मेवारीपूर्ण भूमिका आवश्यक रहेको उल्लेख गरेको छ।


