– लोकेन्द्र श्रेष्ठ “ईश्वर”
जीवनमा केही व्यक्तिहरू यस्ता हुन्छन्, जसको योगदान कुनै पद, पुरस्कार वा प्रशंसाभन्दा धेरै माथि हुन्छ। उनीहरूले आफू आबद्ध संस्थाको इतिहासमा अमिट छाप छोडेका हुन्छन्। भक्तपुर क्यान्सर अस्पतालको इतिहास पल्टाउँदा मलाई बारम्बार सम्झना आउने यस्तै व्यक्तित्व हुनुहुन्छ-प्राध्यापक डा. आरती शाह।
आज भक्तपुर क्यान्सर अस्पताल देशकै अग्रणी क्यान्सर उपचार केन्द्रका रूपमा चिनिन्छ। तर यो अवस्थासम्म आइपुग्न अस्पतालले लामो संघर्ष, चुनौती र अभावका दिनहरू पार गरेको छ। ती कठिन दिनहरूमा अस्पताललाई मजबुत आधार दिन महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरूमध्ये डा. आरती शाह अग्रपंक्तिमा हुनुहुन्थ्यो ।
त्यस समयमा नेपालमा क्यान्सर विशेषज्ञ चिकित्सकहरू औँलामा गन्न सकिने मात्र थिए। विशेषगरी रेडियो अन्कोलोजी क्षेत्रमा दक्ष जनशक्तिको अभाव अत्यन्त गम्भीर थियो। बिरामीको संख्या बढ्दै थियो, तर विशेषज्ञ चिकित्सकहरू सीमित थिए। यस्तै अवस्थामा हामीले वीर अस्पतालबाट धेरै प्रयास, समन्वय र पहलपछि डा. आरती शाहलाई भक्तपुर क्यान्सर अस्पतालमा ल्याउन सफल भएका थियौँ। त्यो यात्रा सहज थिएन। विभिन्न प्रशासनिक प्रक्रिया, समन्वय र चुनौतीहरू पार गर्दै उहाँलाई केही समय काजमा ल्याइयो। त्यसपछि नेपाल सरकारलाई थप आर्थिक भार नपर्ने गरी उहाँको तलब, सेवा-सुविधा लगायत सम्पूर्ण व्यवस्थापन भक्तपुर क्यान्सर अस्पतालले नै गर्ने व्यवस्था मिलाएर स्थायी रूपमा अस्पतालसँग जोड्न सफल भयौँ। त्यो निर्णयले अस्पतालको उपचार सेवामा गुणात्मक परिवर्तन ल्याएको थियो।
भक्तपुर क्यान्सर अस्पतालको विकास यात्रासँग मेरो सम्बन्ध केवल एउटा पद वा जिम्मेवारीमा सीमित थिएन। लामो समयदेखि यस संस्थासँग जोडिँदै गर्दा मैले अस्पतालका आवश्यकता, चुनौती र सम्भावनाहरूलाई नजिकबाट अनुभव गर्ने अवसर पाएँ। संस्थाको हित, बिरामीको सेवा र गुणस्तरीय क्यान्सर उपचार विस्तार गर्ने उद्देश्यले भएका धेरै पहलहरूमा प्रत्यक्ष रूपमा सहभागी हुने अवसर मिल्यो। डा. आरती शाहजस्ता दक्ष र समर्पित विशेषज्ञलाई अस्पतालसँग जोड्ने पहल पनि त्यही संस्थागत आवश्यकताको एउटा महत्वपूर्ण हिस्सा थियो।
डा. आरती शाह केवल एक कुशल चिकित्सक मात्र नभई संवेदनशील र समर्पित व्यक्तित्व पनि हुनुहुन्थ्यो । उहाँ बिरामीसँग गर्ने व्यवहार, रोगीको पीडा बुझ्ने क्षमता र उपचारप्रतिको समर्पणका कारण बिरामी तथा आफन्तहरूको मन जित्न सफल हुनुभयो। कतिपय बिरामीहरूले उहाँलाई चिकित्सकभन्दा बढी परिवारको सदस्यजस्तै विश्वास गर्थे। अस्पतालमा उहाँको उपस्थितिले बिरामीहरूमा आशा र आत्मविश्वास थपिन्थ्यो।
नेपाल अर्बुद रोग निवारण संस्था (NCRS) द्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालमार्फत देशव्यापी क्यान्सर सचेतना तथा स्वास्थ्य शिविरहरू सञ्चालन गरिन्थे। ती कार्यक्रमहरूमा पनि उहाँको योगदान अविस्मरणीय छ । त्यस बखत देशका केही जिल्लाहरूमा पहिलो पटक पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना तथा प्रारम्भिक परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (HPV) हो भन्ने विषयमा जनचेतना फैलाउने, साथै HPV परीक्षण तथा VIA जस्ता स्क्रिनिङ कार्यक्रममार्फत प्रारम्भिक पहिचानको अभियान अघि बढाउने कार्यमा डा. शाहको महत्वपूर्ण नेतृत्व थियो। यस्ता कार्यक्रमहरूले दुर्गम क्षेत्रका महिलाहरूलाई समयमै परीक्षण र परामर्शको पहुँच दिलाउन महत्वपूर्ण योगदान पुर्याएका थिए।
त्यसबेला देशका धेरै जिल्लाहरूमा सडक सञ्जाल पुगेको थिएन। दुर्गम क्षेत्रमा पुगेर स्वास्थ्य सेवा दिनु आफैंमा ठूलो चुनौती थियो। तर डा. शाह कहिल्यै पछि हट्नुभएन।
मलाई अझै स्पष्ट सम्झना छ-ताप्लेजुङमा आयोजित एक स्वास्थ्य शिविर। त्यतिबेला त्यहाँसम्म पुग्ने मोटर बाटो बनेको थिएन। हाम्रो टोली हवाईजहाजमार्फत सुकेटार पुगेको थियो। शिविर सफलतापूर्वक सम्पन्न भयो। तर फर्कने बेलामा मौसमले साथ दिएन। लगातार खराब मौसमका कारण जहाज उड्न सकेन।
हामी करिब सात दिनसम्म सुकेटार विमानस्थल क्षेत्रमा बस्न बाध्य भयौँ। त्यहाँको होटल तथा लजको अवस्था अहिलेको जस्तो सुविधा सम्पन्न थिएन। एउटै कोठामा ६–७ जना बसेर दिन कटाउनु परेको थियो। जाडो, अभाव, असुविधा र अनिश्चितताबीच पनि टोलीमा निराशा थिएन। बरु त्यो एउटा साहसिक यात्राजस्तै बनेको थियो। आज ती दिन सम्झँदा दुःखभन्दा बढी रमाइलो अनुभूति हुन्छ। डा.त्यस्ता कठिन परिस्थितिमा पनि सधैं सकारात्मक ऊर्जा र हौसला दिने व्यक्तित्वका रूपमा रहनुहुन्थ्यो।

त्यसबेला अस्पताल सञ्चालन र विकासका लागि आर्थिक स्रोत जुटाउनु पनि ठूलो चुनौती थियो। टुँडिखेलमा भागबत सप्ताह आयोजना गरेर अस्पतालका लागि सहयोग संकलन गर्ने कार्यहरू गरिन्थे।यो त एक उधार्हरण मात्र हो अस्पतालको एउटा–एउटा इँटा जोडिँदै जाँदा, एउटा–एउटा सेवा विस्तार हुँदै जाँदा यस्ता सयौँ संघर्ष र योगदानहरू जोडिएका छन्। उहाँ ती संघर्षका प्रत्यक्ष साक्षी मात्र नभई सक्रिय सहभागी पनि हुनुहुन्थ्यो।
पछिल्ला वर्षहरूमा उहाँ अस्पतालको मेडिकल डाइरेक्टरको जिम्मेवारीमा पनि रहनुभयो। मेरो बुझाइमा भक्तपुर क्यान्सर अस्पताललाई वास्तविक अर्थमा “अस्पताल” बनाउने यात्रामा उहाँको योगदान अत्यन्त महत्वपूर्ण छ। सेवा विस्तार, उपचारको गुणस्तर, विशेषज्ञता विकास र संस्थागत संस्कृतिको निर्माणमा उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्नुभयो।
सन् २०१८ को एउटा घटना आज पनि मेरो मानसपटलमा ताजै छ। म त्यतिबेला टोरोन्टो, क्यानडामा थिएँ। अस्पतालमा कार्यवाहक नेतृत्व सम्हालिरहेका जिम्मेवार व्यक्तिहरूसँग डा. आरती शाहलाई पुनः अस्पतालमा ल्याउने विषयमा केही असहजता देखिएको जानकारी पाएँ। अस्पतालको आवश्यकता र संस्थाको हितलाई ध्यानमा राख्दै मैले आफ्नो धारणा स्पष्ट रूपमा राख्ने निर्णय गरें।
त्यसै क्रममा मैले “हार्दिक स्वागत” लेखिएको पोस्टर तयार गराएँ। त्यो पोस्टर अस्पताल परिसरमा राखियो र मेरो फेसबुक वालमा समेत सार्वजनिक गरियो। पोस्टरमा डा. आरती शाहको पुनः आगमनप्रति स्वागत व्यक्त गरिएको थियो। मेरो उद्देश्य स्पष्ट थियो—अस्पताललाई आवश्यक पर्ने सक्षम, अनुभवी र समर्पित व्यक्तित्वलाई सम्मानपूर्वक जिम्मेवारीमा ल्याउनुपर्छ भन्ने सन्देश दिनु।
त्यो पोस्टर आज हेर्दा केवल स्वागत सन्देश मात्र होइन, संस्थाप्रतिको प्रतिबद्धता र योग्य व्यक्तिप्रतिको सम्मानको प्रतीक जस्तो लाग्छ।
मेरो अध्यक्षताकालमा अस्पताललाई थप शैक्षिक तथा प्राज्ञिक उचाइमा लैजाने योजना पनि बनाइएको थियो। सोही उद्देश्यका साथ डा. आरती शाहलाई प्रमुख संयोजक बनाएर विभिन्न कार्यक्रमहरू अगाडि बढाइँदै थिए। अस्पताललाई उपचार केन्द्र मात्र नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणको केन्द्रका रूपमा विकास गर्ने हाम्रो सोच थियो।

तर संस्थागत विकासको यात्रा सधैं सहज हुँदैन। कुनै पनि संस्थामा नयाँ सोच, सुधारका प्रयास र परिवर्तनका क्रममा विभिन्न प्रकारका आन्तरिक चुनौतीहरू आउन सक्छन्। भक्तपुर क्यान्सर अस्पतालले पनि त्यस्ता केही चुनौतीहरूको सामना गर्नुपर्यो। कहिलेकाहीँ संस्थाको दीर्घकालीन हितभन्दा व्यक्तिगत धारणा वा असहमतिहरू अगाडि आउने अवस्था पनि देखियो।
तर ती परिस्थितिमा पनि हाम्रो प्राथमिकता सधैं अस्पतालको हित, बिरामीको सेवा र संस्थाको भविष्य नै रह्यो। व्यक्तिभन्दा संस्था ठूलो हो भन्ने मान्यताका साथ आवश्यक निर्णयहरू गर्दै अगाडि बढ्ने प्रयास गरियो। यस्ता अनुभवहरूले संस्थागत नेतृत्वलाई अझ जिम्मेवार र परिपक्व बनाउँछन्।
नेतृत्वमा रहँदा मेरो सधैंको प्रयास अस्पताललाई व्यक्ति केन्द्रित होइन, संस्था केन्द्रित बनाउने रह्यो। योग्य व्यक्ति, सही सोच र सेवाप्रतिको समर्पणलाई सम्मान गर्दै अघि बढ्दा मात्रै कुनै पनि संस्था दीर्घकालीन रूपमा बलियो बन्न सक्छ भन्ने मेरो विश्वास थियो।
आज फर्केर हेर्दा मेरो कार्यकालका सफलताका पछाडि धेरै साथीहरूको साथ, सहयोग र सद्भाव थियो। चिकित्सकहरू, कर्मचारीहरू, स्वयंसेवकहरू र संस्थाका अग्रजहरूको योगदानविना कुनै पनि उपलब्धि सम्भव हुँदैन। कहिलेकाहीँ असहयोग र चुनौतीहरू पनि आए, तर ती अनुभवहरूले संस्थागत नेतृत्वलाई अझ बलियो बनाउने अवसर दिए।
डा. आरती शाहसँग जोडिएका सम्झनाहरू केवल एक चिकित्सकको कथा होइनन्। ती भक्तपुर क्यान्सर अस्पतालको निर्माण, विकास र विस्तारका कथाहरू हुन्। ती क्यान्सर बिरामीहरूको आशाका कथाहरू हुन्। ती संघर्ष, समर्पण र सेवाभावका कथाहरू हुन्।
आज पनि जब भक्तपुर क्यान्सर अस्पतालको विकास यात्रा सम्झन्छु, डा. आरती शाहको नाम सम्मानका साथ आउँछ। उहाँजस्ता बौद्धिक, समर्पित र मानवीय चिकित्सकहरूले नै संस्थाहरूलाई जीवन दिन्छन्। अस्पतालको इतिहास लेखिँदा उहाँको योगदानलाई छुट्टै अध्यायका रूपमा स्मरण गरिनुपर्छ भन्ने मेरो दृढ विश्वास छ।
यी र यस्तै अनेकौँ सम्झनाहरू भविष्यमा प्रकाशन हुने “NCRS/BCH डायरी” का महत्वपूर्ण पानाहरू हुनेछन्। डा. आरती शाहसँग जोडिएका अनुभवहरू त त्यस डायरीका केही अमूल्य पानाहरू मात्र हुन्।
सुकेटारमा जहाज नउडेर सात दिनसम्म अलपत्र पर्दा भोगिएका कठिनाइ, त्यही कठिनाइबीचका हाँसो–ठट्टा, सहयात्रा र अविस्मरणीय क्षणहरूका आफ्नै कथाहरू छन्। तीमध्ये केही रमाइला र प्रेरणादायी प्रसङ्गहरू भविष्यमा प्रकाशित हुने डायरीमा विस्तारसँग समेट्ने प्रयास गर्नेछु।
– लेखकद्वारा तयार पारिँदै गरेको “NCRS/BCH डायरी” बाट।


