Banijya News

लोकसेवा भर्ना प्रक्रिया नियमित, ६ घण्टामै सच्याइयो सचिव बैठकको निर्णय

1
1.1K Shares

निजामती सेवामा नयाँ कर्मचारी भर्ना रोक्ने संकेतसहित मुख्यसचिवस्तरीय बैठकबाट भएको निर्णय सरकारले केही घण्टामै सच्याएको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको पहिलो सचिव बैठकले चालु आर्थिक वर्षमा लोकसेवा आयोगमार्फत नयाँ स्थायी भर्नाका लागि रिक्त दरबन्दी नपठाउने निर्णय गरेपछि लाखौं तयारीरत युवामा अन्योल र निराशा छाएको थियो। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोही दिन राति स्पष्टिकरण जारी गर्दै लोकसेवा आयोगको नियमित भर्ना प्रक्रिया नरोकिने जनाएको छ।

प्रधानमन्त्री कार्यालयको हस्तक्षेपपछि सरकारले आवश्यक पर्ने रिक्त पदमा नियमित रूपमा लोकसेवा आयोगमार्फत विज्ञापन खुलाइने स्पष्ट पारेको हो। यससँगै वार्षिक रूपमा लोकसेवा परीक्षाको तयारी गरिरहेका चारदेखि पाँच लाख युवाले राहतको अनुभूति गरेका छन्।

सरकारका अनुसार संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणपछि केही मन्त्रालय र निकायमा दरबन्दी घटेका कारण फाजिल कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिइनेछ। तर कर्मचारी समायोजनपछि रिक्त रहने पद तथा नयाँ स्वीकृत दरबन्दीमा नियमित रूपमा स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग पठाइनेछ। यसले यस वर्ष पनि आयोगको वार्षिक भर्ना प्रक्रिया प्रभावित नहुने संकेत दिएको छ।

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अधिकारीहरूका अनुसार संघीय कार्यालयहरूमा करिब एक हजार पाँच सयदेखि दुई हजारसम्म दरबन्दी पुनर्संरचना हुने सम्भावना रहे पनि सबै पद हट्ने अवस्था छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले पनि दरबन्दी कटौती भएका बाहेकका रिक्त पदमा लोकसेवा आयोगमार्फत नियमित रूपमा भर्ना प्रक्रिया अघि बढ्ने बताएका छन्।

नेपालमा लोकसेवा आयोगले हरेक वर्ष असोजको अन्तिम बुधबारदेखि विभिन्न सेवाका लागि विज्ञापन खुलाउने परम्परा छ। आवेदन प्रक्रिया चैतको अन्तिम बुधबारसम्म सञ्चालन हुन्छ। औसतमा वार्षिक करिब तीन हजार पाँच सय नयाँ कर्मचारी निजामती सेवामा प्रवेश गर्ने गरेका छन्। त्यसैले भर्ना रोक्ने प्रारम्भिक निर्णयले युवामाझ ठूलो असन्तुष्टि उत्पन्न गरेको थियो।

मुख्यसचिव कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सरकारी कार्यालयमा फाजिल कर्मचारी व्यवस्थापनलाई प्राथमिकता दिने निर्णय गरेको थियो। ओएनएमपछि आवश्यकताभन्दा बढी भएका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहका रिक्त स्थानमा खटाइने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ। यसका लागि सम्बन्धित मन्त्रालयहरूबीच समन्वय बढाइने बताइएको छ।

बैठकले सेवा प्रवाह सुधारका लागि पनि केही महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारी कार्यालयमा सेवाग्राहीका गुनासो तथा सुझाव व्यवस्थापन गर्न क्युआर कोड, वेबसाइट र मोबाइल एपमार्फत एकीकृत प्रणाली सञ्चालन गर्ने, गुनासो निश्चित समयभित्र समाधान गर्ने तथा त्यसको अभिलेख राख्ने व्यवस्था लागू गरिने भएको छ।

यस्तै, मालपोत र नापीसम्बन्धी सेवा क्रमशः स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया तीव्र बनाउने, मनसुनजन्य विपद् तथा महामारीजस्ता संकटका बेला सबै सरकारी निकाय र सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राख्ने तथा आवश्यक जनशक्ति, राहत सामग्री र बजेट परिचालनमा समन्वय गर्ने निर्णय पनि गरिएको छ।

बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरकारी निकायलाई जिम्मेवारीअनुसारका काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ। साथै आर्थिक अनुशासन, मितव्ययी खर्च, बेरुजु नियन्त्रण, राजस्व चुहावट रोकथाम, मानव बेचबिखन, अवैध तस्करी तथा अन्तरदेशीय अपराध नियन्त्रणमा सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय गर्ने निर्णयसमेत गरिएको छ।

लोकसेवा भर्ना रोकिएको भन्ने प्रारम्भिक सन्देशले उत्पन्न गरेको अन्योल सरकारले केही घण्टामै अन्त्य गरेको भए पनि मुख्यसचिवको पहिलो सचिव बैठकको निर्णय विवादमा परेको छ।

1

Scroll to Top