नेपालमा अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबार नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले व्यापक अभियान सञ्चालन गरेको छ। चालु वर्षको फिफा विश्वकप प्रतियोगिता सुरु भएयता मात्रै प्राधिकरणले दुई लाख २३ हजार ५६८ वटा बेटिङ वेबसाइट तथा मोबाइल एप बन्द गरेको जनाएको छ। विश्वकपका बेला अनलाइन बेटिङको गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने आकलनका आधारमा सरकारले निगरानी कडा बनाएपछि यो अभियानलाई थप तीव्र बनाइएको हो।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत अनलाइन सट्टेबाजी र डिजिटल माध्यमबाट हुने ठगी नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो। उक्त कार्यसूचीको ४२ औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित वेबसाइट तथा एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो। सोही निर्णय कार्यान्वयनका क्रममा त्यतिबेला सञ्चालनमा रहेका धेरैजसो बेटिङ प्लेटफर्म बन्द गरिएका थिए।
यद्यपि, यस्ता वेबसाइटहरू एक पटक बन्द भएपछि फेरि नयाँ नाम, नयाँ डोमेन र फरक वेब ठेगानाबाट सञ्चालनमा आउने क्रम नरोकिएको प्राधिकरणले जनाएको छ। यही कारण एउटालाई बन्द गर्दा अर्को नयाँ वेबसाइट खुल्ने चुनौती कायमै रहेको छ। प्राधिकरणका अनुसार अहिले पनि दैनिक रूपमा नयाँ वेबसाइट पहिचान गरी अवरुद्ध गर्ने कार्य निरन्तर चलिरहेको छ।
यस अभियानलाई प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले विशेष ‘टास्क फोर्स’ गठन गरेको छ। टास्क फोर्समा रहेका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप सुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीका प्रतिनिधिलाई प्राधिकरणमै समन्वयका लागि राखिएको थियो। उनीहरूको सहकार्यमा बेटिङ सञ्चालन हुने वेबसाइटका यूआरएल पहिचान गरी तत्काल ब्लक गर्ने व्यवस्था मिलाइएको छ।
महतोका अनुसार लाखौँ वेबसाइट एक–एक गरी खोजेर बन्द गर्नु सम्भव नहुने भएकाले विभिन्न अधिकारप्राप्त निकाय तथा अन्तर्राष्ट्रिय स्रोतबाट प्राप्त सूचनाका आधारमा संदिग्ध वेबसाइटहरूको सूची तयार गरिन्छ। त्यसपछि आईएसपीसँग समन्वय गरेर ती वेबसाइट नेपालभित्रबाट पहुँच नहुने गरी अवरुद्ध गरिन्छ।
प्राधिकरणले यसका लागि आधुनिक ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरिरहेको जनाएको छ। उक्त प्रविधिको सहयोगमा नयाँ खुल्ने बेटिङ वेबसाइट र अवैधानिक वित्तीय कारोबारसँग सम्बन्धित प्लेटफर्महरूको निरन्तर खोजी (हन्टिङ) गरिन्छ। यस कार्यका लागि छुट्टै प्राविधिक जनशक्ति परिचालन गरिएको पनि प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार अनलाइन बेटिङ र अवैधानिक वित्तीय कारोबारले नागरिकलाई आर्थिक जोखिममा पार्नुका साथै साइबर अपराध, ठगी र गैरकानुनी रकम कारोबारलाई बढावा दिने भएकाले यस्ता गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको छ। त्यसैले इन्टरनेट सेवा प्रदायक, सम्बन्धित सरकारी निकाय र प्रविधि विज्ञबीच समन्वय गरेर यस्ता प्लेटफर्महरू पहिचान तथा नियन्त्रण गर्ने अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिनेछ।
यसैबीच, सर्वसाधारणलाई पनि यस्ता गैरकानुनी वेबसाइट तथा एपबारे जानकारी भए नेपाल दूरसञ्चार प्राधिकरणलाई सूचना उपलब्ध गराउन आग्रह गरिएको छ। प्राधिकरणले यसका लागि आफ्नो GitHub पृष्ठमार्फत संदिग्ध वेबसाइट वा एपको विवरण अद्यावधिक गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ। नागरिकको सक्रिय सहभागिताले अनलाइन सट्टेबाजी, साइबर ठगी र अवैधानिक वित्तीय कारोबार नियन्त्रणमा थप प्रभावकारी परिणाम हासिल हुने विश्वास प्राधिकरणले व्यक्त गरेको छ।


