विराटनगरमा पाँच सय किलो सुन, अर्बौं रुपैयाँ नगद तथा ठूलो परिमाणमा अवैध हातहतियार लुकाएर राखिएको भन्ने गोप्य सूचनाका आधारमा मोरङ प्रहरीले सञ्चालन गरेको ठूलो खानतलासी अभियान अन्ततः निष्कर्षविहीन बनेपछि प्रहरीको अनुसन्धान शैली र कार्यप्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। सोमबार बिहानै विराटनगर महानगरपालिका–७ स्थित उद्योगी प्रकाश मुन्दडा परिवारको निवासमा गरिएको व्यापक प्रहरी अपरेसनबाट कुनै पनि शंकास्पद सामग्री फेला नपरेपछि उद्योगी–व्यवसायी मात्र होइन, सुरक्षा संयन्त्रमै पनि यस घटनालाई लिएर समीक्षा सुरु भएको छ।
प्रहरीले बिहान झिसमिसेदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी मुन्दडा निवासलाई चारैतिरबाट घेरा हालेको थियो। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालको नेतृत्वमा सञ्चालित उक्त अपरेसनमा एक दर्जनभन्दा बढी प्रहरी सवारीसाधन, ठूलो संख्यामा सुरक्षाकर्मी तथा ड्रोनसमेत परिचालन गरिएको थियो। केही समयका लागि आसपासको क्षेत्रलाई नियन्त्रणमा लिएर सञ्चालन गरिएको यो अपरेसनले स्थानीय बासिन्दा र व्यवसायीहरूलाई समेत चकित बनाएको थियो।
प्रहरी टोलीले करिब पाँच घण्टासम्म घर र कार्यालयका विभिन्न भागमा विस्तृत खानतलासी गरेको थियो। कोठादेखि गोदाम, भण्डारण कक्ष, पानीको ट्यांकी, मसलाको भाँडासम्म सूक्ष्म रूपमा जाँच गरिए पनि प्रहरीले खोजिरहेको सुन, नगद वा हातहतियार केही पनि फेला परेन। परिणाम शून्य भएपछि प्रहरीको तयारी, सूचनाको विश्वसनीयता र अपरेसन सञ्चालन गर्ने शैलीमाथि व्यापक आलोचना सुरु भयो।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) शेखर खनालले पनि घटनापछि अपरेसन सञ्चालन गर्ने क्रममा प्रक्रियागत कमजोरी भएको स्वीकार गरेका छन्। उनका अनुसार संवेदनशील सूचना प्राप्त भएपछि अनुसन्धान गर्नु प्रहरीको जिम्मेवारी भए पनि सूचना पूर्ण रूपमा प्रमाणित नगरी ठूलो संख्यामा प्रहरी परिचालन गर्नु, ड्रोनको प्रयोग गर्नु तथा सडक नै नियन्त्रणमा लिएर अपरेसन सञ्चालन गर्नु उपयुक्त अभ्यास थिएन। यस्ता गतिविधिले सर्वसाधारणमा अनावश्यक त्रास सिर्जना गर्ने र प्रहरीप्रतिको विश्वासमा समेत असर पार्ने उनले बताए।
डीआईजी खनालका अनुसार प्रारम्भिक रूपमा मोरङ प्रहरी प्रमुखले एक व्यवसायीको घरमा ठूलो परिमाणमा सुन र नगद रहेको विशेष सूचना आएको जानकारी गराएका थिए। उनले त्यसबेला सकेसम्म सादा पोसाकमा, गोप्य रूपमा र कसैलाई अनावश्यक दुःख नदिई सूचना पुष्टि गरेर मात्र कारबाही अघि बढाउन निर्देशन दिएका थिए। तर व्यवहारमा त्यसको विपरीत ठूलो सुरक्षा अपरेसन सञ्चालन भएको उनले स्वीकार गरे।
घटनापछि उद्योगी–व्यवसायीहरूमा असन्तुष्टि बढेपछि डीआईजी खनालले विराटनगरका उद्योगी तथा व्यवसायीसँग छुट्टै छलफल गरेका थिए। छलफलमा उनले प्रहरीको उद्देश्य कसैलाई आतंकित बनाउने नभई प्राप्त सूचनाको सत्यता जाँच गर्नु मात्र रहेको स्पष्ट पारे। साथै अनुसन्धानका क्रममा देखिएका प्रक्रियागत कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा यस्ता अपरेसन थप व्यवसायिक, संयमित र मर्यादित ढंगबाट सञ्चालन गरिने बताए।
यस घटनासँगै मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ। प्रहरी नेतृत्वले घटनाको आन्तरिक समीक्षा गर्दै सूचना संकलन, प्रमाणीकरण तथा अनुसन्धान प्रक्रियामा भएका कमजोरीबारे विस्तृत अध्ययन सुरु गरेको जनाएको छ।
प्रहरीले प्राप्त गरेको लिखित उजुरीमा मुन्दडा निवासमा अर्बौं रुपैयाँ नगद, सयौं किलो सुन तथा ठूलो मात्रामा हातहतियार राखिएको दाबी गरिएको थियो। उजुरीमा घरको सुरक्षाका लागि हतियारधारी व्यक्तिहरू परिचालन गरिएको समेत उल्लेख थियो। यस्ता गम्भीर आरोपसहित लिखित निवेदन प्राप्त भएपछि कानुनी रूपमा खानतलासी गर्नुपर्ने अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ।
डीआईजी खनालले अनुसन्धान प्रक्रियामा कहिलेकाहीँ सूचना गलत हुन सक्ने स्वीकार गरे। उनका अनुसार प्रहरीको दायित्व प्राप्त सूचनामाथि अनुसन्धान गर्नु हो। अदालतले पनि प्रहरीले दर्ता गरेका सबै मुद्दामा सजाय नदिने उदाहरण दिँदै उनले अनुसन्धान असफल हुनु र अनुसन्धान नै नगर्नु फरक विषय भएको बताए। तर अनुसन्धान गर्दा नागरिकको सम्मान, गोपनीयता र व्यवसायिक प्रतिष्ठालाई विशेष ध्यान दिनुपर्ने उनले जोड दिए।
घटनासँगै अर्को महत्वपूर्ण विषय पनि सार्वजनिक भएको छ। केही सुरक्षा अधिकारीहरूले उक्त सूचना प्रधानमन्त्री कार्यालयबाट गृहमन्त्रालय हुँदै प्रहरी मुख्यालयमार्फत जिल्ला प्रहरीसम्म पुगेको दाबी गरेका छन्। उनीहरूका अनुसार पाँच सय किलो सुन भण्डारण गरिएको भन्ने ‘विश्वसनीय सूचना’का आधारमा नै ठूलो अपरेसनको तयारी गरिएको थियो। त्यसैले प्रहरी टोली पूर्ण आत्मविश्वासका साथ अपरेसनमा गएको थियो।
यद्यपि डीआईजी खनालले माथिल्लो तहको प्रत्यक्ष निर्देशनमा छापा मारिएको भन्ने विषयलाई पुष्टि गर्न अस्वीकार गरेका छन्। उनका अनुसार त्यसबारे फैलिएका अधिकांश कुरा हल्लामात्र हुन्। तर केही सुरक्षा अधिकारीहरूले भने यति ठूलो अपरेसन जिल्ला प्रहरीको निर्णयले मात्र सम्भव नहुने दाबी गर्दै माथिल्लो तहबाट निर्देशन आएको हुनसक्ने बताएका छन्।
सुरक्षा स्रोतहरूका अनुसार सुरुआतमा सूचना चुहिएर सामान अन्यत्र सारिएको हुन सक्ने आशंका गरिएको थियो। तर विस्तृत अनुसन्धानपछि सूचना नै पूर्ण रूपमा गलत रहेको निष्कर्षमा प्रहरी पुगेको बताइएको छ। यसले सूचना संकलन र त्यसको प्रमाणीकरण प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ।
यस घटनाले मोरङ प्रहरी पछिल्लो समय पटक–पटक गलत सूचनाको आधारमा अपरेसन सञ्चालन गर्दै आएको तथ्य पनि पुनः चर्चामा आएको छ। केही साताअघि विराटनगरका अभिषेक गिरीको घरमा अवैध हातहतियार लुकाइएको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। त्यतिबेला पनि प्रहरीले खोजेको कुनै हतियार फेला परेको थिएन।
त्यसअघि असार ४ गते प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा फरार प्रतिवादी लुकेको सूचनाका आधारमा राति खानतलासी गरिएको थियो। कोठा–कोठा खोजतलास गर्दा पनि सूचना गलत सावित भएको थियो। त्यस्तै जेठ महिनामा आईपीएल सट्टेबाजीमा संलग्न रहेको आशंकामा पक्राउ गरिएका चार जनालाई पर्याप्त प्रमाण नपुगेपछि प्रहरीले २४ घण्टा नबित्दै रिहा गरेको थियो।
यी घटनाले मोरङ प्रहरीको सूचना विश्लेषण प्रणाली, अनुसन्धानको प्रारम्भिक मूल्यांकन तथा अपरेसन सञ्चालन गर्ने निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। उद्योगी–व्यवसायीहरूले गलत सूचनाका आधारमा गरिने यस्ता सार्वजनिक अपरेसनले प्रतिष्ठामा क्षति पुग्ने, लगानीको वातावरण बिग्रने र व्यवसायी समुदायमा अनावश्यक त्रास फैलिने बताएका छन्।


