Banijya News

भक्तपुर क्यान्सर अस्पताल : अब राज्यले निर्णायक निर्णय गर्ने बेला

1
1.1K Shares

— लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’

नेपालमा क्यान्सर उपचारको इतिहास खोज्ने हो भने भक्तपुर क्यान्सर अस्पताल एउटा स्वास्थ्य संस्था मात्र होइन। यो नेपाल अर्बुद रोग निवारण संस्थाको निरन्तर प्रयास, चिकित्सक तथा स्वास्थ्यकर्मीको समर्पण, विभिन्न दाता तथा शुभेच्छुकको सहयोग र राज्यसँगको सहकार्यबाट विकसित भएको एउटा महत्वपूर्ण सामाजिक अभियानको परिणाम हो।

तर यो इतिहासले गौरव मात्र सम्झाउँदैन, राज्यले पूरा गर्नुपर्ने एउटा गम्भीर जिम्मेवारी पनि सम्झाउँछ। आज यही ऐतिहासिक संस्थाको भौतिक अवस्था र भविष्यबारे गम्भीर निर्णय गर्ने समय आएको छ।

नेपाल अर्बुद रोग निवारण संस्थाको अगुवाइमा भक्तपुरमा क्यान्सर उपचार सेवा सुरु हुँदा आजको जस्तो ठूलो अस्पतालको कल्पना गर्नसमेत कठिन थियो। तत्कालीन श्री ३ चन्द्रलोक अस्पतालको पुरानो भवनबाट १५ शय्याको संरचनामा सुरु भएको सेवा विस्तार हुँदै गयो। संस्थाले विभिन्न दाता, शुभेच्छुक र समाजसेवीको सहयोग जुटाउँदै भवन निर्माण गर्‍यो, उपचारका लागि आवश्यक संरचना थप्यो र सेवा विस्तार गर्दै लग्यो।

त्यही संघर्षको परिणाम आज भक्तपुर क्यान्सर अस्पताल सयभन्दा बढी शय्या क्षमताको महत्वपूर्ण क्यान्सर उपचार केन्द्रका रूपमा स्थापित भएको छ। यो यात्रा केवल भवन निर्माणको कथा होइन; यसमा हजारौँ बिरामीको आशा, सहयोग गर्ने नागरिकको विश्वास र नेपालको क्यान्सरविरुद्धको सामाजिक अभियानको इतिहास जोडिएको छ।

१५ शय्याबाट सुरु भएको क्यान्सर उपचारको यात्रालाई जीर्ण संरचनामा होइन, आगामी पुस्ताको आवश्यकता धान्ने आधुनिक पूर्वाधारमा लैजानुपर्छ ।

समय बदलिएको छ। क्यान्सरका बिरामी बढेका छन्, उपचार प्रविधि अत्याधुनिक बनेका छन् र सेवाको आवश्यकता पनि व्यापक भएको छ। तर त्यसअनुसार अस्पतालको भौतिक पूर्वाधार विस्तार हुन सकेको छैन।

भूकम्पबाट प्रभावित पुरानो संरचना, रातो स्टिकर लगाइएका भवन, साँघुरा उपचार कक्ष र सीमित क्षमताका बीच अस्पताल सञ्चालन भइरहेको अवस्था गम्भीर चिन्ताको विषय हो। चिकित्सक तथा स्वास्थ्यकर्मीले कठिन परिस्थितिमा सेवा दिइरहेका छन् भने बिरामी र कुरुवाले पनि असहज वातावरणको सामना गर्नुपरेको छ।

बढ्दो बिरामी चाप र सीमित पूर्वाधार

आज भक्तपुर क्यान्सर अस्पतालमा आउने बिरामीको संख्या ठूलो छ। तर शय्या सीमित छन्। भर्ना भएर उपचार गर्नुपर्ने बिरामीले समेत समयमै शय्या नपाउने अवस्था छ। दैनिक ठूलो संख्यामा बिरामीलाई शय्या उपलब्ध गराउन नसकी फर्काउनुपर्ने अवस्था सिर्जना हुनु सामान्य व्यवस्थापकीय समस्या होइन।

क्यान्सर उपचारमा समयको विशेष महत्व हुन्छ। शल्यक्रिया, रेडियोथेरापी, किमोथेरापी वा अन्य उपचार ढिलो हुँदा त्यसको असर बिरामीको स्वास्थ्यसँगै परिवारको आर्थिक र मानसिक अवस्थामाथि पनि पर्न सक्छ।

क्यान्सर अस्पतालको ढोकाबाट उपचारको आशा बोकेर फर्किएको बिरामीसँग केवल एउटा शय्या गुम्दैन, उसको उपचारको महत्वपूर्ण समय पनि गुम्न सक्छ। त्यसैले अस्पतालको क्षमता, शय्या संख्या र भौतिक संरचनालाई तत्काल पुनरावलोकन गर्नुपर्ने अवस्था आएको छ।

आधुनिक उपकरण, पुरानो संरचना

अस्पतालको अर्को महत्वपूर्ण पक्ष विद्युतीय प्रणाली र उपकरण सुरक्षासँग जोडिएको छ। आज क्यान्सर उपचार अत्याधुनिक प्रविधिमा आधारित छ। रेडियोथेरापीको लिन्याक, सिटी स्क्यानलगायतका उपकरण उपचारका आधार हुन्। तर यस्ता संवेदनशील उपकरण सञ्चालन हुने संरचना र विद्युत् प्रणाली पुरानो हुनु जोखिमपूर्ण अवस्था हो।

विगतमा विद्युत् प्रणालीमा आएको समस्याका कारण लिन्याक र सिटी स्क्यानजस्ता महत्वपूर्ण उपकरणमा क्षति पुगेको अनुभवले पनि भविष्यका लागि सचेत गराएको छ।

यस विषयलाई कसैमाथि दोषारोपण गर्ने रूपमा होइन, संस्थागत सुधारको अवसरका रूपमा लिनुपर्छ। अस्पतालको विद्युत् प्रणाली, ट्रान्सफर्मर, वैकल्पिक ऊर्जा व्यवस्था, अग्नि सुरक्षा र उपकरण सुरक्षाको प्राविधिक परीक्षण आवश्यक छ।

अत्याधुनिक उपकरण खरिद गरेर मात्र गुणस्तरीय क्यान्सर सेवा सम्भव हुँदैन। ती उपकरणलाई सुरक्षित रूपमा सञ्चालन गर्न सक्ने पूर्वाधार र भरपर्दो प्रणाली पनि आवश्यक हुन्छ।

एउटा दुःखद घटनाले उठाएको प्रश्न

हालै क्यान्सर उपचारको आर्थिक भार र पारिवारिक विवशतासँग जोडिएको एउटा अत्यन्तै पीडादायी घटनाले समाजलाई गहिरो रूपमा झस्काएको छ। क्यान्सरपीडित श्रीमतीलाई उपचारको कठिन अवस्थाबीच पिठ्युँमा बोकेर सुनकोशीमा हाम फालेको पराजुली दम्पतीको घटनाले हाम्रो स्वास्थ्य प्रणालीसामु गम्भीर प्रश्न खडा गरेको छ।

यसलाई केवल एउटा परिवारको व्यक्तिगत दुःखद निर्णयका रूपमा हेरेर पुग्दैन। यसले सोधेको प्रश्न हो-क्यान्सरजस्तो गम्भीर रोगसँग लडिरहेका परिवारका लागि उपचारको आर्थिक बोझ अर्को असह्य संकट बन्ने अवस्था कहिलेसम्म रहने?

एउटा परिवारको पीडालाई केवल व्यक्तिगत नियतिका रूपमा हेरेर राज्य उम्किन मिल्दैन। यसले उपचारको पहुँच, लागत र सामाजिक सुरक्षाबारे पनि सोच्न बाध्य बनाउँछ।

क्यान्सर रोगसँग लडिरहेको परिवारलाई औषधि र उपचारसँगै राज्यको भरोसा पनि चाहिन्छ। नेपाल अर्बुद रोग निवारण संस्थाको नेतृत्वमा अस्पताल सञ्चालन भएका समयमा धेरै विपन्न तथा असहाय बिरामीले सहुलियत र निःशुल्क उपचार पाएको इतिहास छ। अब अस्पताल नेपाल सरकारको व्यवस्थापनमा आइसकेपछि यस्तो मानवीय दायित्व अझ प्रभावकारी रूपमा अगाडि बढ्नुपर्छ।

तत्कालको विकल्प हरू खोज्न जरूरी छ

भक्तपुर क्यान्सर अस्पतालको समस्या समाधान गर्न नयाँ भवन निर्माण पूरा नहुँदासम्म वर्षौँ कुर्नुपर्ने अवस्था छैन। ठिमीस्थित छाती रोग केन्द्रको भवन लामो समयदेखि उपयोगविहीन अवस्थामा रहेको छ। आवश्यक प्राविधिक तथा प्रशासनिक परीक्षणपछि उक्त भवन अस्पतालको सेवा विस्तारका लागि उपयुक्त देखिए सरकारले तत्काल निर्णय गर्नुपर्छ।

यसबाट शय्या विस्तार, सेवा व्यवस्थापन र वर्तमान संरचनामाथिको दबाब कम गर्न सहयोग पुग्न सक्छ। क्यान्सर उपचार विस्तारका लागि विगतमा किड्नी सेन्टरका लागि प्रस्तावित भवन प्रयोग गर्ने विषयसमेत छलफलमा आएको थियो। तर सरकार परिवर्तनसँगै निर्णय प्रक्रियाले निरन्तरता पाउन नसक्दा त्यो सम्भावना कार्यान्वयन हुन सकेन।

स्वास्थ्य क्षेत्रका दीर्घकालीन पूर्वाधारका निर्णय सरकार परिवर्तनसँगै रोकिनु हुँदैन। बिरामीको आवश्यकता स्थायी हुन्छ, त्यसैले स्वास्थ्य योजनाले पनि स्थायित्व पाउनुपर्छ।

भविष्यका लागि नयाँ क्यान्सर उपचार केन्द्र

ठिमीको भवन तत्कालीन राहतको विकल्प हुन सक्छ, तर दीर्घकालीन समाधान भने होइन। नेपाल सरकारले अब उपत्यकाभित्र उपयुक्त स्थानमा अत्याधुनिक क्यान्सर उपचार केन्द्र निर्माणको योजना अघि बढाउनुपर्छ। छालिङ, ठिमी, निलबाराही वा अन्य सम्भावित सरकारी जग्गाको अध्ययन गर्न सकिन्छ।

स्थान छनोट गर्दा सडक पहुँच, सार्वजनिक यातायात, पार्किङ, विद्युत्, खानेपानी, फोहोर व्यवस्थापन, भविष्य विस्तारको सम्भावना र विकिरण सुरक्षालाई ध्यान दिनुपर्छ। नयाँ भवन बनाउनु भनेको केही कोठा थप्नु मात्र होइन। भविष्य मा १०० वर्षलाई हेरेर क्यान्सर उपचारको सम्पूर्ण संरचना निर्माण गर्नु हो।

आज बनाइएको अस्पताल भोलिको पुस्ताले फेरि साँघुरो र अपर्याप्त भन्नुपर्ने अवस्था नआओस् भन्ने दूरदृष्टि आवश्यक छ। रेडियोथेरापी, मेडिकल अंकोलोजी, सर्जिकल अंकोलोजी, इमेजिङ, प्याथोलोजी, आकस्मिक सेवा, पेन तथा प्यालिएटिभ केयर र पुनर्स्थापना सेवासहितको एकीकृत क्यान्सर उपचार केन्द्र अबको आवश्यकता हो।

संस्थाको इतिहास र राज्यको दायित्व

भक्तपुर क्यान्सर अस्पतालको वर्तमान स्वरूप निर्माणमा नेपाल अर्बुद रोग निवारण संस्थाको योगदानलाई इतिहासबाट अलग गर्न सकिँदैन।

१५ शय्याबाट सुरु भएको सेवा सयभन्दा बढी शय्यामा पुग्नुका पछाडि वर्षौँको संघर्ष, सामाजिक सहयोग र सेवाभाव जोडिएको छ। आज अस्पताल नेपाल सरकारलाई हस्तान्तरण भइसकेको अवस्थामा यो इतिहास अझ ठूलो जिम्मेवारीमा परिणत भएको छ। जनताको सहयोग र सामाजिक अभियानबाट निर्माण भएको संस्थालाई राज्यले अझ सुरक्षित, आधुनिक र जनमुखी बनाउनुपर्छ।

संस्थाले निर्माण गरेको संरचना राज्यलाई हस्तान्तरण गर्नु अन्त्य होइन; त्यसलाई अझ सक्षम र भविष्यका लागि तयार बनाउनु नै त्यसको वास्तविक अर्थ हो।

अब निर्णयको घडी

मैले नेपाल अर्बुद रोग निवारण संस्थाको निवर्तमान अध्यक्ष तथा भक्तपुर क्यान्सर अस्पतालको पूर्व अध्यक्षका रूपमा यस संस्थाको विकास र चुनौतीलाई नजिकबाट देखेको छु। त्यसैले यो आग्रह कुनै व्यक्तिगत स्वार्थका लागि होइन। यो आग्रह ती हजारौँ बिरामीका लागि हो, जो उपचारको आशा बोकेर भक्तपुर पुग्छन्।

१५ शय्याबाट सुरु भएको क्यान्सर उपचारको यात्रा आज सयभन्दा बढी शय्याको अस्पतालसम्म आइपुगेको छ। अब यसको अर्को यात्रा राज्यको दूरदृष्टिले तय गर्नुपर्छ। क्यान्सर बिरामीको रोगले सरकार परिवर्तनको प्रतीक्षा गर्दैन।
उसलाई आजै उपचार चाहिन्छ, समयमै शय्या चाहिन्छ; उसको परिवारलाई आश्वासन होइन, आजै राज्यको भरोसा चाहिन्छ।
त्यसैले अब भक्तपुर क्यान्सर अस्पताललाई ‘जसोतसो चलाउने’ होइन, कस्तो बनाउने भन्ने निर्णय गर्ने बेला आएको छ।क्यान्सर अस्पतालको भवन केवल इँटा, सिमेन्ट र उपकरणले बन्दैन। त्यो हजारौँ बिरामीको जीवनप्रतिको राज्यको प्रतिबद्धताले बन्छ। क्यान्सर लाग्नु नेपाली नागरिकको अपराध होइन। गरिब हुनु उसको दोष होइन। उपचार नपाउनु राज्यको नियति पनि हुनु हुँदैन।

अब कुनै क्यान्सरपीडित परिवारले उपचारको खर्च सम्झेर निराश हुन नपरोस्, कुनै बिरामी शय्या नपाएर फर्किन नपरोस् र कुनै परिवार उपचारकै विवशताबाट जीवनसँग हार मान्नुपर्ने अवस्थामा नपुगोस्। भक्तपुर क्यान्सर अस्पताललाई भगवान् भरोसामा होइन, राज्यको भरोसामा चल्ने अस्पताल बनाऔँ।

अब फाइल होइन—निर्णय चाहिन्छ।
आश्वासन होइन—पूर्वाधार चाहिन्छ।
र भाषण होइन—क्यान्सरपीडित नेपालीका लागि राज्यको भरोसा चाहिन्छ।

(लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ नेपाल अर्बुद रोग निवारण संस्था, निवर्तमान अध्यक्ष / भक्तपुर क्यान्सर अस्पताल, पूर्व अध्यक्ष)

1

Scroll to Top