इरानले आफ्ना माग पूरा नभएसम्म होर्मुज जलडमरूमध्यमार्फत पानीजहाजको आवतजावत सहज रूपमा सञ्चालन नगर्ने स्पष्ट संकेत दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलगाद्रले अमेरिकाले इरानका ६ वटा माग पूरा नगरेसम्म जलडमरूमध्य नखोलिने बताएका हुन्।
जोलगाद्रले अघि सारेका मागमा इरानमाथि लगाइएका प्रतिबन्धमा खुकुलोपन ल्याउनुपर्ने, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने, इरानी बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तत्काल हटाउनुपर्ने तथा इरानविरुद्धका धम्की रोक्नुपर्ने विषय छन्। त्यसैगरी विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।
विश्लेषकहरूका अनुसार जोलगाद्रले सार्वजनिक गरेका माग इरानले यसअघि पनि उठाउँदै आएका विषयकै निरन्तरता हुन्। यद्यपि, पछिल्लो अभिव्यक्तिले होर्मुज जलडमरूमध्यको विषयमा भइरहेको वार्तामा इरानले आफ्नो अडान अझै कडा राखेको संकेत गरेको छ।
इरानको यस्तो धारणा इरान र ओमानबीच होर्मुज जलडमरूमध्यमार्फत पानीजहाजको आवतजावतका लागि नयाँ व्यवस्था गर्ने विषयमा भएको पछिल्लो वार्तालाई दुवै पक्षले ‘सकारात्मक र रचनात्मक’ भनेका बेला आएको हो। यसले वार्तामा केही प्रगति भए पनि अन्तिम सहमतिका लागि थप विषयमा समझदारी आवश्यक रहेको देखाएको छ।
इरानी विदेशमन्त्री अब्बास अराघ्चीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। तर, वार्ता सफल भएर सम्झौता भए पनि त्यसलगत्तै होर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुल्ने अवस्था नरहेको उनले स्पष्ट पारेका छन्। जलमार्ग पुनः सञ्चालनका लागि अन्य सर्तहरू पनि पूरा हुनुपर्ने उनको भनाइ छ।
यसअघि समाचार संस्था रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरान र ओमानबीच होर्मुज जलडमरूमध्यका विषयमा भएको वार्तामा प्रगति भइरहेको जनाएको थियो। ती अमेरिकी अधिकारीले पनि छिट्टै सम्झौता हुन सक्ने अपेक्षा व्यक्त गरेका थिए।
अमेरिकी अधिकारीका अनुसार व्यावसायिक पानीजहाजलाई होर्मुज जलडमरूमध्यमार्फत बिना अवरोध आवतजावत गर्न दिने सुनिश्चिततासहितको सम्झौता घोषणा भएपछि अमेरिकाले इरानी बन्दरगाहमाथि लगाइएको नौसैनिक नाकाबन्दी हटाउने अपेक्षा गरिएको छ।
तर, इरानले भने जलमार्ग खोल्ने विषयलाई केवल पानीजहाजको आवतजावतसँग मात्र जोडेको छैन। प्रतिबन्ध हटाउनेदेखि युद्धबाट भएको क्षतिको क्षतिपूर्ति र विदेशमा रोक्का रहेको सम्पत्ति फुकुवासम्मका विषयलाई उसले समग्र सहमतिको हिस्सा बनाएको छ।
होर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो। यसबाट हुने अन्तर्राष्ट्रिय पानीजहाज आवतजावतमा अवरोध उत्पन्न हुँदा विश्व बजारमा इन्धनको आपूर्ति प्रभावित हुन सक्छ। त्यसको प्रत्यक्ष असर इन्धनको मूल्यमा समेत पर्न सक्ने भएकाले जलडमरूमध्यलाई लिएर इरान र अमेरिकाबीचको पछिल्लो तनाव तथा वार्तालाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको छ।
अबको अवस्था इरानले अघि सारेका मागमा अमेरिका कति लचिलो हुन्छ र होर्मुज जलडमरूमध्यमार्फत व्यावसायिक पानीजहाजको आवतजावत सुनिश्चित गर्ने विषयमा कस्तो सहमति बन्छ भन्नेमा निर्भर देखिएको छ।


