Banijya News

काठमाडौँका पाँच स्थानबाट आज ग्यास बिक्री गरिदै, कहाँ-कहाँ पाइन्छ ?

1
1.0K Shares

खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ताले सास्ती खेपिरहेका बेला नेपाल आयल निगमले आज शनिबार काठमाडौँका पाँच स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत तोकिएका बिक्री केन्द्रबाट ग्यास उपलब्ध गराउन लागिएको हो। निगमका अनुसार अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी यो व्यवस्था गरिएको हो।

निगमका अनुसार ग्यास बिक्री बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। ग्यास खरिद गर्न जाने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र साथमा लैजानुपर्नेछ। निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र बिक्री केन्द्रमा पुगेर ग्यास खरिद गर्न आग्रह गरेको छ।

कहाँ-कहाँ पाइन्छ ग्यास ?

निगमको टेकु परिसरबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट/सुगम ग्यास, श्रीराम ग्यास, सगर ग्यास, सिद्धार्थ ग्यास, श्री ग्यास र हिमाल ग्यास बिक्री गरिनेछ। त्यस्तै यातायात कार्यालय परिसर, चाबहिलबाट नेपाल ग्यास र एचपी ग्यास उपलब्ध हुनेछ। राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट/सुगम ग्यास, श्रीमाया ग्यास, श्रीकृष्ण ग्यास, साइबाबा ग्यास र ओम ग्यास बिक्री गरिने निगमले जनाएको छ। राधास्वामी परिसर, बसुन्धराबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट/सुगम ग्यास, भानु ग्यास र ओम ग्यास उपलब्ध हुनेछ। त्यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहलबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट/सुगम ग्यास, श्रीराम ग्यास, सगर ग्यास, हिमाल ग्यास, एसटीसी ग्यास, लोकप्रिय ग्यास र सूर्य ग्यास बिक्री गरिनेछ।

ग्यास अभावको कारण के हो ?

निगमले पछिल्लो समय एलपी ग्यासको आयात नियमित भइरहेको बताए पनि बजारमा तत्कालीन रूपमा अभाव देखिनुको मुख्य कारण मागमा भएको अस्वाभाविक वृद्धि रहेको जनाएको छ। यसअघि केही समय ७.१ केजीको आधा तौलको सिलिन्डर वितरण गरिएकोमा साउनदेखि पुनः १४.२ केजीको पूर्ण सिलिन्डर वितरण सुरु भएपछि बजारमा ग्यासको माग एकाएक बढेको निगमको भनाइ छ। साथै विगतका केही महिनामा आयातमा कमी आएकाले त्यसको प्रभाव पनि अहिले देखिएको बताइएको छ। निगमका अनुसार साउन १ देखि २९ गतेसम्म मात्रै २ हजार ७८१ बुलेट ग्यास आयात भएको छ। सामान्य अवस्थामा दैनिक करिब १ लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकोमा पछिल्लो अवधिमा औसत दैनिक १ लाख ३२ हजार सिलिन्डरसम्म वितरण भएको तथ्यांक सार्वजनिक गरिएको छ।

आपूर्ति बढाउने तयारी

बजारमा ग्यासको मागलाई ध्यानमा राख्दै सरकारले आगामी तीन महिनाका लागि मासिक ग्यास आपूर्ति ४९ हजार ५०० मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टन पुर्‍याउन भारत सरकारसँग अनुरोध गरेको छ। यसका लागि परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहलसमेत भइरहेको जनाइएको छ।

त्यसैगरी ग्यास वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन निगमले जीआईएस म्याप र क्यूआर कोडमा आधारित ट्र्याकिङ प्रणाली अघि बढाएको छ। यसबाट उद्योग, डिलर, वितरक तथा सब–वितरकसँग रहेको ग्यासको मौज्दात र सिलिन्डरको आवागमनबारे निगरानी गर्न सकिने अपेक्षा गरिएको छ।

ग्यास अभावसम्बन्धी उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न मन्त्रालय, निगम र ग्यास उद्योगीको प्रतिनिधित्व रहने गरी ‘क्विक रेस्पोन्स टिम’समेत सक्रिय रहेको छ। सरकारले अनावश्यक सञ्चय तथा ‘प्यानिक बाइङ’ नगर्न उपभोक्तालाई आग्रह गर्दै आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। शनिबारको विशेष बिक्रीबाट तत्काल ग्यास नपाएका वा थप माग भएका क्षेत्रका लागि आगामी दिनमा पनि यस्ता बिक्री केन्द्र विस्तार गर्न सकिने निगमले जनाएको छ। निगमका अनुसार स्थानीय डिपो तथा विक्रेतामार्फत नियमित बिक्रीसमेत जारी रहनेछ।

1

Scroll to Top