धार्मिक तथा पर्यटकीय क्षेत्रको व्यवस्थित विकाससँगै स्थानीय पूर्वाधार विस्तार गर्न सके वैदेशिक रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता क्रमशः अन्त्य गर्न सकिने नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन्। उनले पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्न सके गाउँमै रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना हुने बताए।
बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै ढकालले धार्मिक पर्यटनलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनका अनुसार बाइसे–चौबिसे राज्यकालदेखि नै ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भैरवस्थान क्षेत्र पर्यटन विकासका लागि पर्याप्त सम्भावना भएको ठाउँ हो। धार्मिक आस्था, स्थानीय कृषि उत्पादन, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई एकीकृत रूपमा प्रवर्धन गर्न सके यस क्षेत्रले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनको भनाइ छ।
ढकालले भैरवस्थानलाई बागलुङको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए। विशेषगरी मुक्तिनाथ आउने पर्यटकलाई बागलुङका धार्मिक तथा पर्यटकीय स्थलसम्म ल्याउन सके त्यसको प्रत्यक्ष लाभ स्थानीय समुदायले लिन सक्ने उनले उल्लेख गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तथा अन्य विदेशी पर्यटकको संख्या बढेको प्रसङ्ग उल्लेख गर्दै ढकालले त्यसको लाभ आसपासका अन्य पर्यटकीय क्षेत्रले पनि लिनुपर्ने बताए।
“मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र बागलुङका भैरवस्थानलगायत पर्यटकीय स्थलमा ल्याउन सकियो भने यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्न सक्छ,” उनले भने।
पर्यटकलाई आकर्षित गरेर मात्र नभई उनीहरूलाई कम्तीमा एक रात स्थानीय क्षेत्रमा बस्ने वातावरण निर्माण गर्नुपर्ने ढकालको जोड थियो। त्यसका लागि गुणस्तरीय होटल, रिसोर्ट, होमस्टे तथा यातायातलगायतका पूर्वाधार विस्तार आवश्यक रहेको उनले बताए।
उनले पर्यटन विकासमा स्थानीय तह, निजी क्षेत्र र समुदायबीच सहकार्य आवश्यक रहेको धारणा राखे। केबलकारलगायतका पर्यटकीय पूर्वाधार निर्माणका लागि स्थानीय स्तरबाट आवश्यक सहयोग र वातावरण निर्माण भए छोटो समयमै त्यसको सकारात्मक परिणाम देखिन सक्ने उनको भनाइ थियो।
ढकालले स्वदेशी पुँजी परिचालनमार्फत मुलुकभित्रै ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने प्रयास भइरहेको पनि जानकारी दिए। महासङ्घको ढोरपाटन बैठकको निर्णयअनुसार १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ नामक लगानी कम्पनी सञ्चालनमा ल्याइएको उनले बताए।
उक्त कम्पनीमार्फत पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रविधि क्षेत्रका सम्भावनायुक्त आयोजनामा लगानी भित्र्याउने काम सुरु भइसकेको ढकालले जानकारी दिए। उनका अनुसार स्थानीय स्रोत, सीप र पुँजीलाई उत्पादनसँग जोड्न सके रोजगारीका लागि युवाहरू विदेशिनुपर्ने अवस्थालाई घटाउन सकिन्छ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा भैरवस्थान क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्दै स्थानीय विकासमा पर्यटनको योगदान बढाउने विषयमा जोड दिइएको थियो।


