Banijya News

रसुवा बाढीको कहर : ६२६ शव फेला, २ हजार ४ सय २६ अझै सम्पर्कविहीन

1
1.0K Shares

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय क्षति झन् भयावह बन्दै गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेसम्म विभिन्न स्थानबाट मानव अङ्गसहित ६ सय २६ जनाको शव फेला परेको छ। बाढीपछि ठूलो सङ्ख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

प्राधिकरणका अनुसार बाढीमा परी हालसम्म २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा स्थानीय बासिन्दासँगै जलविद्युत् आयोजनाका कामदार, सुरक्षाकर्मी, विदेशी नागरिक तथा विदेशमा बस्ने नेपालीसमेत छन्। जलविद्युत् आयोजनाबाट मात्रै ९ सय ३३ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ। नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी पनि बेपत्ताको सूचीमा छन्।

फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा छन्। चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १ सय ५८, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। बाढीको बहाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा फैलिँदा रसुवाबाट टाढाका जिल्लासम्म समेत मानवीय क्षति पुगेको देखिएको छ। नेपाल प्रहरीले पनि चितवन, नवलपरासी पूर्व–पश्चिमलगायत जिल्लामा बाढीपछि अज्ञात शव फेला परिरहेको विवरण सार्वजनिक गरेको छ।

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त विवरणअनुसार रसुवामा ५ सय ६२, नुवाकोटमा १ सय १५ र मकवानपुरमा ६५ जना अझै सम्पर्कविहीन छन्। यसबाहेक ५ सय १७ जना विदेशी नागरिक र बिदा मनाउन नेपाल आएका विदेशमा बस्ने १ सय २७ नेपालीको अवस्था अज्ञात छ। भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि बेपत्ताको सूचीमा छन्। यसले बाढीको प्रभाव स्थानीय जनजीवनमा मात्र सीमित नरही पर्यटन, व्यापार, सरकारी सेवा तथा जलविद्युत् क्षेत्रसम्म गम्भीर रूपमा परेको देखाएको छ।

बाढीबाट सबैभन्दा प्रभावित क्षेत्रमा जलविद्युत् आयोजना र त्यससँग जोडिएका संरचना पनि रहेका छन्। केही आयोजनाका सुरुङ तथा निर्माणस्थलमा कामदार फसेको आशङ्कापछि सुरक्षाकर्मीले विशेष खोजी अभियान सञ्चालन गरिरहेका छन्। हालसम्म जीवितै उद्धार गरिएका ४ हजार ४ सय ५१ जनामध्ये १ सय ९१ जनालाई जलविद्युत् आयोजनाका सुरुङबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ। उद्धारकर्ताहरूले बाक्लो लेदो, ढुङ्गा–माटो र क्षतिग्रस्त संरचनाबीच खोजी गरिरहेका छन्।

विपद्ग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार २ सय २४ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाली सेनाका ६ हजार ७ सय ५५, नेपाल प्रहरीका ४ हजार ८ सय ११ र सशस्त्र प्रहरी बलका ३ हजार ६ सय ५८ जना उद्धार तथा खोजी कार्यमा खटिएका छन्। नेपाली सेना, प्रहरी, स्थानीय प्रशासन तथा स्थानीय बासिन्दाको समन्वयमा सडक खुलाउने, जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने र बेपत्ताको खोजी गर्ने काम भइरहेको छ।

हवाई उद्धारलाई पनि तीव्रता दिइएको छ। शनिबार मात्रै ५ सय १७ जनाको हवाई उद्धार गरिएको छ भने १ सय २९ जना विदेशी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। नेपाली सेना तथा निजी क्षेत्रका १६ वटा हेलिकप्टरमार्फत ९९ उडान गरी उद्धार तथा राहत सामग्री ओसारपसार गरिएको छ। घाइतेमध्ये १ सय १ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेको उपचारका लागि सर्जिकल मेडिकल टिमसमेत परिचालन गरिएको छ।

बाढीको प्रारम्भिक कारणबारे हिमाली क्षेत्रमा भएको हिमताल तथा हिमनदीजन्य घटना, बरफ–चट्टान खस्नु र त्यसपछि नदीमा आएको अत्यधिक बहावसँग सम्बन्धित रहेको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन्। अत्यधिक वेगमा आएको पानीसँगै माटो, ढुङ्गा र अन्य भग्नावशेष बग्दा नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् संरचनामा ठूलो क्षति पुगेको छ। प्रभावित क्षेत्रमा थप बाढी तथा पहिरोको जोखिमसमेत रहेकाले सुरक्षा निकायले उच्च सतर्कता अपनाइरहेका छन्।

बाढीले सञ्चार पूर्वाधारमा समेत गम्भीर क्षति पुर्‍याएको छ। कुल १ सय ९८ वटा टेलिफोन टावरमा क्षति पुगेकोमा मर्मतपछि १ सय ४४ वटा पुनः सञ्चालनमा ल्याइएको छ। सञ्चार सेवा अवरुद्ध हुँदा बेपत्ता व्यक्तिको खोजी, परिवारसँग सम्पर्क स्थापना तथा राहत समन्वयमा थप कठिनाइ भएको छ।

सरकारले प्रभावित क्षेत्रमा राहत वितरणलाई पनि तीव्र बनाएको छ। रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ। १५ वटा स्थानीय तहका लागि ६ करोड ७५ लाख रुपैयाँ पठाइएको छ। हालसम्म ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। हेलिकप्टरमार्फत ७ उडान गरी थप राहत सामग्री तथा सञ्चार सेटसमेत पुर्‍याइएको छ।

उद्धार र राहत अभियानलाई निरन्तरता दिन इन्धनको व्यवस्थापन पनि गरिएको छ। नुवाकोटका विभिन्न आयल स्टोरमा ४१ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ। हवाई इन्धनतर्फ ३९ हजार लिटर नुवाकोट पठाइसकिएको छ। हाल ८ हजार लिटर मौज्दात रहेको तथा थप ९ हजार लिटर बाटोमा रहेको प्राधिकरणले जनाएको छ।

788452653_1080543128000251_9112974094826433965_n

1

Scroll to Top