Banijya News

इजरायलमा १ हजार ४६४ सहायक कामदारको आवेदन खुल्यो

1
1.0K Shares

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका व्यक्तिको हेरचाहका लागि नेपाली सहायक कामदारको आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै विभिन्न उमेर समूहका गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि ठूलो संख्यामा कामदार माग गरेको हो।

विभागका अनुसार इजरायलका लागि कुल १ हजार ४६४ जना सहायक कामदार छनोट गरिनेछ। माग हुने कामदारमा १ हजार १३२ जना महिला र ३३२ जना पुरुष रहेका छन्।

यसका लागि आवेदन दिने उम्मेदवारले २५ वर्ष उमेर पूरा गरेको र ४५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक नेपाली नागरिकले भदौ २३ गते राति १२ बजेदेखि असोज २६ गते राति ११ बजेर ५९ मिनेटसम्म अनलाइन आवेदन दिन सक्नेछन्।

आवेदन वैदेशिक रोजगार विभागको वेबसाइटअन्तर्गत रहेको ferms.dofe.go.np मार्फत दिन सकिने विभागले जनाएको छ। आवेदनपछि निर्धारित प्रक्रियाअनुसार उम्मेदवार छनोट गरिनेछ।

छनोट भएका सहायक कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन्। इजरायली सरकारको प्रचलित नियमअनुसार कामको प्रकृति र समयअनुसार ओभरटाइम सुविधा समेत उपलब्ध हुने विभागको सूचनामा उल्लेख छ।

कामदारले सातामा ४२ घण्टा अनिवार्य रूपमा काम गर्नुपर्नेछ। उनीहरूले सातामा एक दिन बिदा पाउनेछन् भने वार्षिक बिदा इजरायली सरकारको श्रमसम्बन्धी कानुनअनुसार उपलब्ध हुनेछ।

त्यसैगरी, कामदारका लागि खानाको व्यवस्था भने रोजगारदाता पक्षबाट नहुने जनाइएको छ। बसोबासको व्यवस्था कम्पनीले गरिदिने भए पनि त्यसको खर्च भने सम्बन्धित कामदार आफैंले व्यहोर्नुपर्नेछ।

1

Scroll to Top