Banijya News

अर्थमन्त्री वाग्लेद्वारा पूँजी बजार सुधारको प्रस्ताव ल्याउन निर्देशन

1
1.0K Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन आवश्यक कानुनी सुधारका प्रस्ताव तयार गरी पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। उनले बजार विकास र सुधारलाई प्राथमिकतामा राख्दै आवश्यक नीतिगत तथा कानुनी उपाय अघि बढाउन जोड दिएका हुन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित उच्चस्तरीय छलफलमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) का शीर्ष अधिकारीहरूसँग पूँजी बजारको वर्तमान अवस्था, चुनौती तथा सुधारका सम्भावित उपायबारे विस्तृत समीक्षा गरिएको थियो। सो अवसरमा अर्थमन्त्री वाग्लेले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने, बजारलाई थप गतिशील बनाउने तथा वित्तीय प्रणालीसँग पूँजी बजारको समन्वय सुदृढ गर्ने विषयमा विशेष ध्यान दिन आग्रह गरेका थिए।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित तथा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए। सहभागी अधिकारीहरूले पूँजी बजारको वर्तमान अवस्था, नियामकीय सुधार र लगानी वातावरण सुदृढीकरणका विषयमा आफ्ना धारणा राखेका थिए।

अर्थ मन्त्रालय स्रोतका अनुसार सरकार पूँजी बजारलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने लक्ष्यमा केन्द्रित छ। त्यसका लागि कानुनी तथा संरचनागत सुधारमार्फत बजारलाई थप प्रभावकारी र विश्वसनीय बनाउने तयारी भइरहेको छ।

1

Scroll to Top