संयुक्त राष्ट्रसंघको ८१औँ महासभा अधिवेशन मंगलबारदेखि औपचारिक रूपमा सुरु भएको छ। अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अधिवेशनको उद्घाटन गरेका हुन्। यस वर्षको महासभा विश्वभर बढिरहेको द्वन्द्व, जलवायु संकट, आर्थिक असमानता र बहुपक्षीय संस्थाप्रतिको कमजोर हुँदै गएको विश्वासबीच सुरु भएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रहमानले संयुक्त राष्ट्रसंघका लागि आफ्नो कार्यकाल निकै संवेदनशील र चुनौतीपूर्ण अवस्थामा सुरु भएको बताए। विश्व संस्था स्थापनाको नवौँ दशकमा प्रवेश गरिरहेका बेला विगतका उपलब्धि महत्वपूर्ण भए पनि अन्तर्राष्ट्रिय समुदायले एकैसाथ अनेकौँ जटिल समस्याको सामना गरिरहेको उनको भनाइ थियो।
विश्वका विभिन्न भूभागमा जारी युद्ध तथा द्वन्द्वका कारण सर्वसाधारणले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको, विकासका उपलब्धिमा अस्थिरता देखिएको र जलवायु परिवर्तनका असर झनै गम्भीर बन्दै गएको उनले उल्लेख गरे। यस्ता परिस्थितिले अन्तर्राष्ट्रिय सहकार्य र बहुपक्षीय प्रणालीप्रति जनविश्वास कमजोर बनाएको उनको निष्कर्ष थियो।
रहमानले आफ्नो कार्यकालमा संयुक्त राष्ट्रसंघप्रतिको विश्वास पुनःस्थापित गर्न विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। यस वर्षको महासभाको मूल विषय पनि “विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापनः सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ” राखिएको छ।
महासभाले आगामी कार्यकालमा विश्व शान्ति तथा सुरक्षाको सुदृढीकरण, दिगो विकासको गति बढाउने, जलवायु परिवर्तनविरुद्ध ठोस कदम चाल्ने, मानवअधिकार संरक्षण गर्ने, प्रविधिको विकासलाई जनहितमा उपयोग गर्ने तथा बहुपक्षीयताप्रतिको विश्वास बढाउने विषयलाई प्राथमिकतामा राख्नेछ।
अध्यक्ष रहमानले सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना हुँदाको विश्व र अहिलेको अन्तर्राष्ट्रिय परिवेशबीच ठूलो परिवर्तन आइसकेको बताए। बदलिएको विश्व व्यवस्थाअनुसार संस्थाले आफूलाई सुधार गर्दै लैजानुपर्ने भए पनि संयुक्त राष्ट्रसंघको बडापत्र, मूल उद्देश्य र आधारभूत मूल्यप्रतिको प्रतिबद्धता भने कायम रहनुपर्ने उनको धारणा छ।
महासभाको उद्घाटन सत्रमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि वर्तमान विश्व परिस्थितिमा बहुपक्षीय सहकार्यको आवश्यकता पहिलेभन्दा बढेको बताए। उनले युद्ध र विभाजनसँगै आणविक हतियारको जोखिम, गरिबी, असमानता, जलवायु संकट र कृत्रिम बुद्धिमत्ताको तीव्र विकासबाट उत्पन्न सम्भावना तथा जोखिमलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरे।
गुटेरेसका अनुसार विश्वभर विस्थापित मानिसको संख्या उच्च अवस्थामा पुगेको छ। मानवीय संकट गहिरिँदै गए पनि राहत तथा विकासका लागि उपलब्ध स्रोतमा भने दबाब बढिरहेको छ। सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय वित्तीय संस्थालगायत बहुपक्षीय संरचनाले पनि बदलिएको विश्व परिस्थितिअनुसार प्रभावकारी रूपमा काम गर्न कठिनाइ भोगिरहेको उनले बताए।
अन्तर्राष्ट्रिय कानुन तथा मानवअधिकारको उल्लंघन, बढ्दो भूराजनीतिक अविश्वास र राष्ट्रहरूबीचको विभाजनले विश्वव्यापी समस्या समाधानमा थप जटिलता ल्याएको गुटेरेसको भनाइ थियो। उनले महासभाका अध्यक्ष रहमानको नेतृत्वमा संवाद, कूटनीति र सहकार्यलाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय विश्वास पुनर्निर्माण हुने अपेक्षा व्यक्त गरे।
गुटेरेसले ‘भविष्यका लागि सम्झौता’ तथा ‘संयुक्त राष्ट्रसंघ–८० पहल’लाई संस्थागत सुधारको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै ८१औँ महासभाले ती प्रतिबद्धतालाई व्यवहारमा उतार्न प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। विश्वका साझा चुनौती सामना गर्न सदस्य राष्ट्रहरूबीच एकता, सहकार्य र सामूहिक प्रयास अपरिहार्य रहेको उनको जोड थियो।

