Banijya News

एलपी ग्यासको आपूर्ति सहज हुँदै, वैकल्पिक मार्गबाट दैनिक ४० हजार सिलिण्डर वितरण

1
1.0K Shares

नेपालमा एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको र वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएपछि बजारमा ग्यासको अवस्था क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमले जनाएको छ। मुख्य सडक अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगबाट ग्यास रिफिल गराएर काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति भइरहेको निगमले स्पष्ट पारेको छ।

निगमका अनुसार भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। उक्त परिमाण करिब ३७ लाख १३ हजार ८९४ वटा ग्यास सिलिण्डर बराबर हो। त्यस्तै, इण्डियन आयल कर्पोरेशन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० सम्म १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमले जनाएको छ।

रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण विभिन्न सडकखण्ड प्रभावित भए पनि ग्यास आपूर्तिलाई निरन्तरता दिइएको छ। विशेषगरी कृष्णभीरमा गएको पहिरोका कारण मुख्य सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट ग्यास ढुवानी तथा वितरणको व्यवस्था मिलाइएको निगमको भनाइ छ। तराईका उद्योगमा ग्यास रिफिल गराएर त्रिभुवन राजपथ र बीपी राजमार्ग हुँदै काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा सिलिण्डर पठाइएको छ।

निगमका अनुसार भदौ १८ देखि २७ गतेसम्मको अवधिमा ती वैकल्पिक मार्ग हुँदै करिब ३ लाख ९९ हजार ५२९ वटा ग्यास सिलिण्डर उपभोक्तामाझ वितरण गरिएको छ। यस अवधिमा दैनिक औसत ४० हजार सिलिण्डर बजारमा पठाइएको निगमले जनाएको छ। सडक अवरोधका बाबजुद वैकल्पिक मार्गबाट आपूर्ति निरन्तर भइरहेकाले बजारमा ग्यासको अवस्था क्रमशः सहज बन्दै गएको निगमको दाबी छ।

यसैबीच, भदौ १० गतेको बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरणमा समन्वय गरिएको छ। प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक ग्यास उपलब्ध गराउन सम्बन्धित उद्योग तथा विक्रेतासँग सहकार्य भइरहेको निगमले जनाएको छ।

कृष्णभीरको सडक खुलाउन गृह मन्त्रालयलगायत सम्बन्धित निकायले आवश्यक पहल गरिरहेका छन्। सडक सञ्चालनमा आएपछि सोही मार्गबाट एलपी ग्यासका बुलेटहरू नियमित रूपमा आउने निगमको विश्वास छ। त्यसपछि काठमाडौंमा ग्यास वितरण गर्ने उद्योगहरूले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी बजारमा पठाउन सक्ने भएकाले आपूर्ति व्यवस्था अझ सहज हुने अपेक्षा गरिएको छ।

आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन निगमले उच्चस्तरीय समन्वय टोली गठन गरेको छ। साथै, सिलिण्डर लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा अनियमितता गर्ने गतिविधि रोक्न गृह मन्त्रालयसँगको समन्वयमा बजार अनुगमन तीव्र पारिएको छ।

सरकारी अनुगमनका क्रममा लुकाएर राखिएका करिब १ हजार २ सय ग्यास सिलिण्डर फेला पारेर उपभोक्तालाई वितरण गरिएको निगमले जनाएको छ। अनियमितता गर्ने विक्रेतालाई नियमानुसार दण्ड तथा जरिवाना गरिएको पनि निगमको भनाइ छ।

ग्यास सिलिण्डरको बिक्री–वितरणलाई थप पारदर्शी र व्यवस्थित बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकास गर्ने तयारी भइरहेको निगमले जनाएको छ। उक्त प्रणालीबाट सिलिण्डरको आपूर्ति, वितरण तथा बिक्री प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेको छ। नियमित प्रक्रियामार्फत संयमित भएर ग्यास खरिद गर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिबारे सम्बन्धित निकायलाई जानकारी गराउन समेत निगमले अनुरोध गरेको छ।

1

Scroll to Top