Banijya News

विदेशमा कार्यरत नेपालीको सामूहिक लगानी सफलताको नयाँ उचाइमा, बेनी खोला जलविद्युत् सेयर बजारमा प्रवेश गर्दै

1
1.0K Shares

ब्रिटिश सेना र सिंगापुर प्रहरीमा कार्यरत नेपालीहरूको सामूहिक बचतबाट स्थापना भएको ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुप (बिग) को लगानी रहेको १९.८ मेगावाट क्षमताको बेनी खोला जलविद्युत् आयोजना सेयर बजारमा सूचीकृत हुने तयारीमा पुगेको छ। प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सफलतापूर्वक सम्पन्न गरेपछि आयोजना अब दोस्रो बजारमा प्रवेश गर्न लागेको हो।

सन् २०१३ मा कप्तान पृथ्वीराज राईको नेतृत्वमा स्थापना भएको बिगमा हाल १६७ भन्दा बढी शेयरधनी आबद्ध छन्। अधिकांश शेयरधनी विदेशमा कार्यरत नेपाली सैनिक तथा पेशाकर्मी हुन्। विदेशमा कमाएको आम्दानीलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले जलविद्युत् क्षेत्रलाई आफ्नो प्राथमिक लगानी क्षेत्र बनाएको छ।

बिगले सुरुवाती चरणदेखि नै बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडमा लगानी गर्दै आएको थियो। हालै सम्पन्न आईपीओमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको थियो। कम्पनीले निष्कासन गरेको सेयरका लागि माग गरिएको परिमाणभन्दा ३०.५५ गुणा बढी आवेदन परेको थियो। कुल २३ लाख ६१ हजारभन्दा बढी आवेदकले आवेदन दिएकामा ८६ हजार ३२० जनाले सेयर प्राप्त गरेका छन्।

प्राथमिक निष्कासन सम्पन्न भएसँगै आयोजना सेयर बजारमा सूचीकृत हुने प्रक्रियामा रहेको छ। यससँगै हजारौं नेपाली सर्वसाधारण जलविद्युत् आयोजनाका प्रत्यक्ष शेयरधनी बन्ने अवसर प्राप्त गरेका छन्।

आर्थिक रूपमा पनि आयोजनाले उल्लेखनीय सुधार देखाएको छ। सञ्चालनको प्रारम्भिक दुई आर्थिक वर्ष नोक्सानीमा रहेको बेनी खोला जलविद्युत् आयोजना पछिल्लो आर्थिक वर्षमा १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यसले आयोजनाको वित्तीय स्थायित्व र भविष्यप्रतिको विश्वासलाई थप बलियो बनाएको छ।

बिगका प्रमुख कार्यकारी अधिकृत चेवन राईले बेनी खोला आयोजनाको सफल यात्रालाई कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनका अनुसार यो उपलब्धि केवल कम्पनीका लगानीकर्ताका लागि मात्र नभई ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने हजारौं नेपालीका लागि पनि सकारात्मक सन्देश हो। ऊर्जा उत्पादनमा आधारित आयोजनामा सर्वसाधारणको सहभागिता बढ्नु देशको आर्थिक विकासका लागि महत्वपूर्ण कदम भएको उनले बताए।

बिगको लगानी बेनी खोलामा मात्र सीमित छैन। कम्पनीले सिन्धुपाल्चोकस्थित ३.२ मेगावाट क्षमताको गेलुन खोला जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ, जुन हाल पूर्ण क्षमतामा सञ्चालनमा छ। साथै ६४ मेगावाट क्षमताको माथिल्लो न्यासेम तथा न्यासेम ‘ए’ जलविद्युत् आयोजनामा पनि कम्पनीको लगानी रहेको छ। उक्त आयोजना वित्तीय व्यवस्थापनको अन्तिम चरणमा पुगेको छ।

जलविद्युत् क्षेत्रसँगै कम्पनीले आगामी दिनमा पर्यटन, शिक्षा र आतिथ्य क्षेत्रलगायत अन्य उत्पादनशील क्षेत्रमा पनि लगानी विस्तार गर्ने योजना बनाएको छ। लगानी विविधीकरणमार्फत दीर्घकालीन रूपमा बलियो पोर्टफोलियो निर्माण गर्ने कम्पनीको लक्ष्य रहेको छ।

सन् २०२६ अप्रिलदेखि कम्पनीको नेतृत्व सम्हालिरहेका प्रमुख कार्यकारी अधिकृत चेवन राईले आगामी तीन वर्षभित्र बिगलाई नेपालको अग्रणी लगानी कम्पनीका रूपमा स्थापित गर्ने तथा पाँच वर्षभित्र कम्पनीकै आईपीओ जारी गरी सेयर बजारमा प्रवेश गर्ने लक्ष्य सार्वजनिक गरेका छन्।

विदेशमा कार्यरत नेपालीहरूको सानो–सानो बचतलाई संगठित गरी स्वदेशको उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अवधारणाबाट सुरु भएको बिगको यात्रा अहिले जलविद्युत् क्षेत्रको सफल लगानी मोडलका रूपमा स्थापित हुँदै गएको छ। बेनी खोला जलविद्युत् आयोजनाको सफल आईपीओले सामूहिक लगानीमार्फत राष्ट्रिय पूर्वाधार विकासमा योगदान दिन सकिने सम्भावनालाई थप उजागर गरेको छ।

1

Scroll to Top