नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल र भारतबीचको आर्थिक तथा रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्याउन भौतिक, डिजिटल तथा ऊर्जा पूर्वाधारको विस्तार आवश्यक रहेको बताउनुभएको छ।
भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले शुक्रबार नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच संवादलाई सम्बोधन गर्दै दुई देशबीचको सम्बन्धलाई समयअनुकूल बनाउन आर्थिक सहकार्य र कनेक्टिभिटीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो।
उहाँले नेपालले हालै भोगेको प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिबारे जानकारी गराउँदै संकटको समयमा भारत सरकार तथा भारतीय जनताले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। विपद्पछिको पुनर्निर्माणलाई सुरक्षित र दिगो बनाउन नेपालले ‘बिल्ड ब्याक बेटर’ अवधारणालाई प्राथमिकताका साथ अघि बढाइरहेको उहाँले बताउनुभयो।
जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि यसको असर हिमाली तथा तटीय पारिस्थितिकीय प्रणालीमा गम्भीर रूपमा परेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले जलवायु न्यायको मुद्दालाई नेपाल र भारतले अन्तर्राष्ट्रिय मञ्चमा संयुक्त रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
उहाँले परम्परागत विकास सहायता प्रणालीभन्दा माथि उठेर विकास वित्तका नयाँ आयाम, हरित वित्त तथा सहुलियतपूर्ण वित्तीय उपकरणको अधिकतम उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो।
व्यापार र लगानी विस्तारमा जोड
अर्थमन्त्री वाग्लेले नेपाल–भारत व्यापार सन्धिलाई समयअनुकूल सुधार गर्दै व्यापार घाटा घटाउने र गैरभन्सार अवरोध हटाउने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। नेपालमा लगानीको वातावरण सुधार गर्न नीतिगत तथा कानुनी सुधार भइरहेको जानकारी दिँदै उहाँले ऊर्जा, उत्पादनमूलक उद्योग तथा प्रविधिको क्षेत्रमा भारतीय लगानी बढाउन आग्रह गर्नुभयो।
उहाँका अनुसार आर्थिक रूपान्तरणका लागि नीतिगत स्थायित्व, संस्थागत सुधार, पारदर्शिता र सुशासन महत्वपूर्ण आधार हुन्। वर्तमान सरकार नेपाली जनताको तीव्र विकास र आर्थिक रूपान्तरणको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै उहाँले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिएको उल्लेख गर्नुभयो।
उच्चस्तरीय सहभागिता
गोलमेच संवादमा भारतका वरिष्ठ राजनीतिज्ञ, कूटनीतिज्ञ, रणनीतिकार तथा अर्थशास्त्रीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको आयोजना स्थल इन्डिया इन्टरनेसनल सेन्टरका अध्यक्ष तथा नेपालका लागि पूर्व भारतीय राजदूत एवं पूर्व विदेश सचिव श्याम शरणले संवादमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता तथा राज्य सभा सदस्य जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार एवं पूर्व विदेश सचिव शिवशंकर मेनन, पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज शरण, अर्थशास्त्री प्रा. डा. दीपक नायर, आईटीपीओका अध्यक्ष जावेद अशरफ, नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित राय, भाजपा विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवालेलगायत सहभागी हुनुहुन्थ्यो।
छलफलका क्रममा सहभागी भारतीय विज्ञ तथा कूटनीतिज्ञहरूले नेपालको लोकतान्त्रिक स्थायित्व, सुशासनप्रतिको प्रतिबद्धता र आर्थिक एजेन्डाबारे धारणा राखेका थिए। उनीहरूले नेपाल–भारत साझा समृद्धिका लागि सीमापार कनेक्टिभिटी, ऊर्जा सहकार्य र पारस्परिक विश्वासलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।
दुवै देशबीचका विद्यमान द्विपक्षीय संयन्त्रलाई थप प्रभावकारी र परिणाममुखी बनाउँदै आर्थिक सहकार्य विस्तार गर्नुपर्ने निष्कर्षसहित संवाद सम्पन्न भएको थियो।

