Banijya News

भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहजीकरणमा जोड

1
1.0K Shares

नयाँ दिल्ली । भारत र नेपालबीच व्यापार, पारवहन तथा आर्थिक सहकार्यका विषयमा छलफल गर्न गठित अन्तर–सरकारी उपसमिति (आईजीएससी) को बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ। भाद्र ३१ गतेदेखि असोज १ गतेसम्म चलेको बैठकमा दुई देशबीचको व्यापार सहजीकरण तथा अनधिकृत व्यापार नियन्त्रणका विषयमा विस्तृत छलफल भएको हो।

बैठकमा दुवै देशका प्रतिनिधिले द्विपक्षीय व्यापारलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा धारणा आदानप्रदान गरेका थिए। बजार पहुँच विस्तार, व्यापार सहजीकरण, भन्सारसम्बन्धी सहकार्य तथा व्यापारमा देखिएका व्यावहारिक समस्याको समाधानका विषयलाई बैठकमा प्राथमिकताका साथ उठाइएको थियो।

त्यस्तै, वस्तु तथा सेवाको गुणस्तर कायम गर्न आवश्यक मापदण्ड, स्वास्थ्य तथा वनस्पतिसम्बन्धी स्वच्छता तथा सुरक्षा उपाय (एसपीएस), औषधि र आयुष उत्पादनको व्यापारलाई सहज बनाउने विषयमा समेत छलफल भएको थियो।

बैठकमा नेपाल–भारत सीमामा रहेका व्यापारिक पूर्वाधार सुधार, सीमा नाकाको क्षमता विस्तार तथा दुई देशबीचको कनेक्टिभिटी थप प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच विचारविमर्श भएको थियो। पारवहन व्यापारलाई सहज बनाउन आवश्यक पूर्वाधार र प्रक्रियागत सुधारका विषयमा समेत छलफल भएको बताइएको छ।

नेपाल र भारतबीचको व्यापारमा देखिएका अवरोध हटाउँदै वैध व्यापारलाई प्रोत्साहन गर्ने तथा अनधिकृत व्यापार नियन्त्रणका लागि सम्बन्धित निकायबीच समन्वय बढाउने विषयमा पनि दुवै पक्षले जोड दिएका थिए।

बैठकका क्रममा दुवै पक्षले निरन्तर संस्थागत संवाद र सहकार्यबाट द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा सहमति जनाएका छन्। साथै, पारवहन तथा सीमापार कनेक्टिभिटीलाई प्रभावकारी बनाउँदै दुई देशबीचको आर्थिक सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता पनि दोहोर्‍याइएको छ।

आईजीएससी बैठकलाई नेपाल–भारत व्यापारिक सम्बन्धमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायबीच नियमित संवाद गर्ने महत्वपूर्ण संयन्त्रका रूपमा लिइन्छ।

1

Scroll to Top