Banijya News

इसेवाको सीईओमा निरज शर्मा नियुक्त

1
1.0K Shares

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन् । इसेवा सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले शर्मालाई असोज १२ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले आगामी चार वर्ष इसेवाको नेतृत्व सम्हाल्नेछन्।

बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव हासिल गरेका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण तथा रिटेल बैंकिङका क्षेत्रमा अनुभवी छन् ।डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि, ग्राहककेन्द्रित सेवा तथा संस्थागत रूपान्तरणका क्षेत्रमा समेत शर्माको अनुभव रहेको इसेवाले जनाएको छ । सञ्चालक समितिले शर्माको नेतृत्व, अनुभव र डिजिटल वित्तीय सेवासम्बन्धी विज्ञताले कम्पनीको आगामी रणनीतिक प्राथमिकता कार्यान्वयनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बदलिँदो ग्राहक आवश्यकता र डिजिटल वित्तीय सेवाको विस्तारसँगै इसेवालाई थप सुदृढ बनाउन शर्माको नेतृत्व महत्वपूर्ण हुने कम्पनीको भनाइ छ ।

जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
यसैबीच, इसेवाका निवर्तमान प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा भएको छ । वि.सं. २०७९ असोज १२ गते इसेवाको सीईओमा नियुक्त भएका खड्काले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेका हुन् ।

खड्काको कार्यकालमा इसेवाले आफ्नो सेवा, पहुँच तथा डिजिटल वित्तीय सेवाको दायरा विस्तार गरेको कम्पनीले जनाएको छ । सो अवधिमा इसेवाका प्रयोगकर्ता, मर्चेन्ट तथा आधिकारिक प्रतिनिधिको संख्या उल्लेख्य रूपमा बढेको छ भने विभिन्न नयाँ प्रडक्ट तथा फिचरसमेत थपिएका छन् । कम्पनीका अनुसार खड्काको कार्यकालमा इसेवामा दर्ता भएका प्रयोगकर्ताको संख्या १ करोड ४० लाख तथा मर्चेन्टको संख्या ६ लाखभन्दा बढी पुगेको छ ।

खड्काको नेतृत्वमा डिजिटल कर्जा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस लिङ्क, बिजनेस एप, इन्टेन्ट पे, क्यालेन्डर तथा इभेन्ट सेवा, इन्सुरेन्स प्रडक्टलगायत विभिन्न सेवा तथा फिचर विस्तार गरिएको कम्पनीले जनाएको छ ।

दृष्टिविहीन नागरिकका लागि ‘टकब्याक’ फिचर तथा नेपाली भाषामा एप सञ्चालनमार्फत डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गरिएको पनि इसेवाले जनाएको छ । खड्काको नेतृत्वमा कम्पनीको व्यावसायिक वृद्धि, डिजिटल वित्तीय सेवाको विस्तार, समावेशी वित्तीय पहुँच तथा ग्राहककेन्द्रित नवप्रवर्तनमा काम भएको इसेवाको भनाइ छ ।

कम्पनीले खड्काको कार्यकालमा हासिल भएका उपलब्धिले इसेवाको आगामी यात्राका लागि बलियो आधार तयार गरेको जनाएको छ । साथै, इसेवा परिवारले खड्काको आगामी व्यावसायिक तथा व्यक्तिगत जीवनको सफलताको शुभकामना व्यक्त गरेको छ ।

1

Scroll to Top