युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ।
मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम रहेको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा हुने उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत रहनेछन्। समारोहमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति राखिने आयोजकले जनाएको छ।
उद्घाटन समारोहपछि युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ। छलफलमा युवाको रोजगारी, सीप विकास, उद्यमशीलता तथा स्वरोजगारका सम्भावनाबारे विभिन्न पक्षबीच विचारविमर्श गरिने बताइएको छ।
मेला आयोजनाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी उनीहरूलाई रोजगारदाता तथा व्यावसायिक तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्कमा ल्याउनु रहेको मन्त्रालयले जनाएको छ। यसका लागि मेलामा सहभागी युवाको सीप पहिचान, प्रोफाइलिङ तथा रोजगार मिलानका गतिविधि सञ्चालन गरिनेछन्।
आज दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म तालिममा सहभागी हुने युवाको छनोट तथा प्रशिक्षार्थीको समूह विभाजन गरिनेछ। साथै, रोजगारीका लागि आवश्यक सीप प्रोफाइलिङ, रोजगारदाता तथा तालिम प्रदायक संस्थाको परिचय र सूचना तथा परामर्श सेवा पनि सञ्चालन हुनेछ।
मेलाको दोस्रो दिनदेखि असोज १९ गतेसम्म विभिन्न १० वटा विषयगत ट्रेडमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन गरिने कार्यक्रम रहेको छ। तालिममार्फत युवालाई रोजगारी बजारमा आवश्यक पर्ने व्यावहारिक तथा प्राविधिक सीप प्रदान गर्ने लक्ष्य राखिएको छ।
मेलामा सीप विकाससँगै रोजगारीका अवसरबारे जानकारी उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ। प्रदर्शनी स्टल, सूचना तथा परामर्श केन्द्र, रेफरल सुविधा र रोजगार मिलानसम्बन्धी गतिविधि मेला अवधिभर निरन्तर सञ्चालन हुनेछन्।
त्यस्तै, युवालाई स्वरोजगार तथा उद्यम सञ्चालनतर्फ प्रोत्साहित गर्न उद्यमशीलतासम्बन्धी छलफल तथा अन्तरक्रिया पनि आयोजना गरिनेछ। रोजगारदाता र तालिम प्रदायक संस्थाबीच प्रत्यक्ष समन्वय गराई सीप भएका युवालाई उपयुक्त रोजगारीसँग जोड्ने प्रयास गरिने आयोजकको भनाइ छ।
सरकारले सीप विकासलाई रोजगारी सिर्जना तथा श्रम बजारको आवश्यकतासँग जोड्ने उद्देश्यले मेला आयोजना गरेको हो।

