समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुल्चोकको स्वामित्व तथा नियन्त्रणमा रहेका सम्पत्ति र व्यवसाय लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। समितिले ३५ दिने सार्वजनिक सूचना जारी गर्दै सहकारीको लगानी रहेका विभिन्न सम्पत्ति तथा व्यवसाय बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो।
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सुमेरु सहकारीमा बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले सम्पत्ति व्यवस्थापन तथा बिक्री प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ। समितिले २०८३ असोज १७ गते सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति, फर्म, संगठित संस्था तथा कम्पनीलाई सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको छ।
लिलाम बिक्रीमा ललितपुर महानगरपालिका–३ मा रहेको सुमेरु सिटी अस्पताल प्रालिसहित विभिन्न सम्पत्ति समावेश गरिएको छ। समितिका अनुसार अस्पताल तथा त्यससँग सम्बन्धित जग्गा, भवन र अन्य संरचनासमेत बिक्रीका लागि राखिएको छ। त्यस्तै राजमाया महर्जनका नाममा रहेका विभिन्न कित्ताका जग्गा पनि लिलाम प्रक्रियामा समेटिएका छन्।
अस्पतालमा रहेका पुँजीगत सामग्री तथा उपकरणसमेत बिक्री गरिने भएको छ। बायोमेडिकल इन्जिनियरबाट मूल्याङ्कन गरिएका अस्पतालका उपकरण तथा अन्य पुँजीगत सामग्रीलाई पनि लिलाम सूचीमा समावेश गरिएको समितिले जनाएको छ।
यसैगरी सुमेरु अस्पताल तथा शङ्खरापुर कलेजसँग सम्बन्धित सञ्चालन अनुमति पत्र (लाइसेन्स), कलेजले सञ्चालन गर्दै आएका सम्पूर्ण शैक्षिक कार्यक्रम र चल सम्पत्तिसमेत लिलाम बिक्री गरिने भएको छ। यसले सहकारीको लगानी रहेका भौतिक सम्पत्तिसँगै सञ्चालनमा रहेका व्यावसायिक तथा शैक्षिक गतिविधिसमेत हस्तान्तरण हुने सम्भावना देखाएको छ।
समितिले इच्छुक बोलपत्रदाताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र गोप्य सिलबन्दी बोलपत्रमार्फत आफ्नो प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था गरेको छ। बोलपत्र फारामका लागि ३ हजार रुपैयाँ शुल्क तोकिएको छ। इच्छुकले उक्त रकम भुक्तानी गरी अनामनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयबाट बोलपत्र फाराम खरिद गर्न सक्नेछन्।
बोलपत्र पेस गर्दा बोलपत्रदाताले आफूले कबोल गरेको रकमको १० प्रतिशत बराबरको धरौटी रकमसमेत जम्मा गर्नुपर्नेछ। त्यसका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, पुतलीसडकमा रहेको समितिको खातामा धरौटी रकम जम्मा गरी बैंक भौचर बोलपत्रसँगै संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।
समितिका अनुसार निर्धारित समयभित्र प्राप्त भएका बोलपत्र ३५औँ दिनको भोलिपल्ट दिउँसो १ बजे खोलिनेछन्। लिलाममा राखिएका सम्पत्ति तथा सामग्री जुन अवस्थामा छन्, त्यही अवस्थामा खरिद गर्नुपर्नेछ।
बोलपत्र स्वीकृत भएपछि सम्पत्तिको नामसारी, दर्ता, दाखिल खारेज, नवीकरण, लाभांश करलगायतका सम्पूर्ण शुल्क तथा खर्च बोलपत्र स्वीकृत हुने व्यक्ति वा संस्थाले नै व्यहोर्नुपर्ने सूचनामा उल्लेख छ। प्राप्त बोलपत्रमध्ये कुन स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम अधिकार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा रहने जनाइएको छ।
सुमेरु सहकारीका सम्पत्ति बिक्रीबाट प्राप्त रकम समस्याग्रस्त सहकारीको दायित्व व्यवस्थापन तथा बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा उपयोग गर्ने समितिको उद्देश्य रहेको छ।

