Banijya News

जीवन बीमा व्यवसायमा १६.८५ प्रतिशतको वृद्धि, तीन महिनामा प्रिमियम संकलन ५७ अर्ब ५२ करोड

1
1.0K Shares

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको व्यवसाय उल्लेख्य रूपमा विस्तार भएको छ। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले असोज मसान्तसम्म कुल ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यसअनुसार एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन १६.८५ प्रतिशतले वृद्धि भएको हो।

कम्पनीगत तथ्यांक हेर्दा अधिकांश बीमकले आफ्नो व्यवसाय विस्तार गर्न सफल भएका छन्। कुल १४ कम्पनीमध्ये ११ वटाको बीमाशुल्क वृद्धिदर दोहोरो अंकमा रहेको छ भने ८ कम्पनीले २० प्रतिशतभन्दा बढीको वृद्धि हासिल गरेका छन्। यसले जीवन बीमा बजारमा व्यवसाय विस्तारसँगै कम्पनीहरूबीच प्रतिस्पर्धा पनि बढ्दै गएको देखाउँछ।

नेपाल लाइफको बजारमा अग्रता

कुल बीमाशुल्क संकलनका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो अग्रता कायम राखेको छ। त्यसपछि नेशनल लाइफ, एलआईसी नेपाल, हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी ठूला व्यवसाय गर्ने कम्पनीका रूपमा रहेका छन्। यद्यपि, वृद्धिदरका आधारमा भने आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४३.२० प्रतिशतले वृद्धि गरी करिब २ अर्ब १७ करोड रुपैयाँ पुर्‍याएको छ। त्यस्तै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको व्यवसाय पनि उल्लेख्य विस्तार भएको छ। कम्पनीको बीमाशुल्क संकलन गत वर्षको करिब १ अर्ब ४० करोड रुपैयाँबाट ३१.४१ प्रतिशतले बढेर करिब १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

नेशनल लाइफको बीमाशुल्कमा २९.५१ प्रतिशत वृद्धि

बीमाशुल्क संकलनका आधारमा दोस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले पनि बलियो वृद्धि गरेको छ। कम्पनीले गत आर्थिक वर्षको पहिलो तीन महिनामा ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा २९.५१ प्रतिशतले बढाएर ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँ पुर्‍याएको छ। यसैगरी रिलायबल नेपाल लाइफको बीमाशुल्क २७.०७ प्रतिशतले बढेको छ। सन नेपाल लाइफको २५ प्रतिशत, सानिमा रिलायन्स लाइफको २३.८० प्रतिशत, एशियन लाइफको २२.६० प्रतिशत र सूर्यज्योति लाइफको २२.०३ प्रतिशतले वृद्धि भएको छ। अन्य कम्पनीमध्ये हिमालयन लाइफको बीमाशुल्क १६.१२ प्रतिशत, सिटिजन लाइफको १५.६८ प्रतिशत र मेट लाइफको १२.१९ प्रतिशतले बढेको छ।

ठूला कम्पनीको तुलनात्मक रूपमा सुस्त वृद्धि

बीमाशुल्क संकलनमा अग्रणी रहेका नेपाल लाइफ र एलआईसी नेपालको वृद्धिदर भने तुलनात्मक रूपमा कम देखिएको छ। नेपाल लाइफको बीमाशुल्क ९.४७ प्रतिशत र एलआईसी नेपालको ९.५२ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, राष्ट्रिय जीवन बीमा कम्पनीको बीमाशुल्क वृद्धिदर ६.६१ प्रतिशतमा सीमित भएको छ।

1

Scroll to Top