Banijya News

हरिबोधिनी एकादशीमा नारायण मन्दिरमा भक्तजनको घुइँचो, बूढानीलकण्ठमा राति १ः३० बजेदेखि दर्शन

1
1.0K Shares

कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका नारायण मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ। भगवान् विष्णु चार महिनापछि क्षीरसागरबाट जागा हुने धार्मिक विश्वासका साथ भक्तजन बिहानैदेखि मन्दिर पुगेर पूजाआजा तथा दर्शनमा सहभागी भएका छन्। विशेषगरी उपत्यकाका चार नारायण र बूढानीलकण्ठ नारायणस्थानमा दर्शनार्थीको उल्लेख्य उपस्थिति देखिएको छ।

हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जागा हुने धार्मिक मान्यता छ। यही विश्वासका आधारमा यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशीका रूपमा मनाइन्छ। वर्षभरिका एकादशीमध्ये विशेष महत्व राख्ने भएकाले यसलाई ठूलो एकादशीसमेत भन्ने गरिन्छ।

आज उपत्यकाका चार नारायणका रूपमा परिचित भक्तपुरको चाँगुनारायण, काठमाडौंको शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ। चारै नारायणको एकैदिन दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण टाढाटाढाबाट समेत भक्तजन सवारीसाधन रिजर्भ गरेर दर्शनका लागि आउने गरेका छन्।

चार नारायण पुग्न नसक्ने भक्तजनले बूढानीलकण्ठस्थित नारायणस्थानको दर्शन गरेमा पनि पुण्य प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास छ। यही कारण बूढानीलकण्ठमा पनि रातिदेखि नै दर्शनार्थीको आगमन सुरु भएको थियो।

बूढानीलकण्ठ नारायणस्थानका महन्त निगमानन्द स्वामीका अनुसार भक्तजनको चाप बढ्न थालेपछि दशनामी मठले राति १ः३० बजेदेखि नै मन्दिरको ढोका दर्शनार्थीका लागि खुला गरेको थियो। बिहान ६ बजेसम्म हजारौँ भक्तजनले विशेष पूजाआजा तथा दर्शन गरिसकेका थिए। मन्दिरमा आज पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए।

मठका अनुसार बिहान १ः३० बजेदेखि सवा ८ बजेसम्म विशेष पूजाका लागि मन्दिर दर्शनार्थीका निम्ति बन्द गर्ने कार्यक्रमसमेत तय गरिएको थियो। बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमा अर्थात् मङ्सिर ८ गतेसम्म विशेष धार्मिक मेला सञ्चालन हुनेछ।

बूढानीलकण्ठ मन्दिरको मुख्य आकर्षण जलकुण्डमाथि शयन गरिरहेको भगवान् नारायणको विशाल शिलामूर्ति हो। एउटै ठूलो ढुङ्गामा भगवान् विष्णु र शिवको मूर्ति स्थापना गरिएको यस स्थललाई धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यहाँ दर्शन गर्न आन्तरिक भक्तजनसँगै विदेशी पर्यटकसमेत पुग्ने गरेका छन्।

हरिबोधिनी एकादशीकै अवसर पारेर मन्दिरमा धार्मिक कार्यक्रम पनि आयोजना गरिएको छ। मङ्सिर २ गतेदेखि सुरु भएको श्रीमद्भागवत कथा वाचनसहितको महायज्ञ तथा धार्मिक महोत्सव मङ्सिर ८ गतेसम्म सञ्चालन हुने मठले जनाएको छ।

यसैगरी, नारायणहिटी दरबार क्षेत्रस्थित चतुर्व्यूह नारायण मन्दिर, हाँडीगाउँ, हनुमानढोका र पशुपति क्षेत्रका नारायण मन्दिर तथा गोकर्णेश्वर नगरपालिकाको नारायणटारस्थित नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको उपस्थिति रहेको छ। उपत्यकाबाहिरका विभिन्न नारायण मन्दिरमा समेत विशेष पूजा तथा धार्मिक कार्यक्रमसहित पर्व मनाइँदैछ।

हरिबोधिनी एकादशी भगवान् विष्णुको आराधनासँगै तुलसी विवाहका लागि पनि महत्वपूर्ण दिन हो। हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठलाई गोबर र रातो माटोले लिपपोत गरी फूलमाला तथा तोरणले सजाएर भगवान् दामोदर अर्थात् विष्णुसँग विवाह गराउने परम्परा छ। तुलसीलाई विष्णुप्रिया मानिने भएकाले तुलसी विवाहको धार्मिक महत्व रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

चार महिनाअघि हरिशयनी एकादशीदेखि सुरु गरिएको तुलसी व्रत तथा विशेष पूजाको आज विधिपूर्वक समापन गरिन्छ। यस अवधिमा विवाह, व्रतबन्धलगायत शुभ तथा माङ्गलिक कार्य नगर्ने परम्परा छ। विष्णु जागा भएपछि पुनः यस्ता धार्मिक तथा सामाजिक संस्कार गर्न सकिने मान्यता रहिआएको छ।

तुलसीको मठमा भगवान् विष्णुको प्रतीकका रूपमा निगालो गाडेर पूजा गर्ने, फूलमाला चढाउने र उखुको बोट सजाउने चलन पनि छ। कात्तिक महिनाभर तुलसीमा सबै देवीदेवताको निवास रहने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् देवमणि भट्टराई बताउँछन्। तुलसीको पूजा र विष्णुलाई तुलसीपत्र अर्पण गर्दा विशेष पुण्य प्राप्त हुने मान्यता छ।

यस दिन व्रतालुहरूले अन्न त्यागेर फलाहार गर्ने परम्परा छ। सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर खाने तथा दिनभर भगवान् विष्णुको भजनकीर्तन, जप र पूजाआराधना गर्ने गरिन्छ। शङ्ख, घण्ट र ढोल बजाउँदै भगवान् विष्णुलाई जागरण गराउने धार्मिक चलनसमेत छ।

धार्मिक ग्रन्थहरूमा हरिबोधिनी एकादशीको व्रत, स्नान, दान र पूजाबाट पाप नाश भई पुण्य प्राप्त हुने उल्लेख छ। यही धार्मिक आस्थाका कारण आज देशभरका विष्णु तथा नारायण मन्दिरमा श्रद्धालुहरूको भीड लागेको हो।

1

Scroll to Top