बेइजिङ्। चीनको केन्द्रीय राजधानी बेइजिङ्मा कोरोना भाइरसविरुद्धको लडाइँलाई फेरि सशक्त बनाउन लागेको छ। पछिल्लो समयमा अनपेक्षितरूपमा कोरोना संक्रमितहरू भेटिन थालेपछि बेइजिङ्मा उच्च सतर्कता अपनाउन थालिएको हो।
उच्च सतर्कता अपनाउने क्रममा बेइजिङ्मा रहेका दुईओटा विमानस्थलबाट हुने सयौं आन्तरिक उडान रद्द गरिएको छ। अधिकारीहरूले दिएको जानकारीअनुसार करीब एक हजार २५५ ओटा आन्तरिक उडान रद्द भएका हुन्।
बेइजिङ्मा अहिलेसम्म ९० हजार जनाको कोरोना परीक्षण गरिएको र नयाँ ३१ सहित कूल १३७ जना संक्रमित भेटिएपछि सरकारी अधिकारीहरूले उच्च सतर्कता अपनाउने निर्णय गरेका हुन्।
बेइजिङ्बाट हुने अन्तर्राष्ट्रिय उडान भने यसअघि देखिनै बन्द हुँदै आएको थियो। त्यो अनिश्चितकालका लागि स्थगित गरिएको छ। त्यसैगरी राष्ट्रिय रेल मार्गबाट पनि बेइजिङ्भन्दा बाहिर जानका लागि बन्द गरिएको छ।
टिकट काटिसकेको छ भने पनि रकम फिर्ता दिने गरिएको अधिकारीहरूको भनाइ छ।आजदेखि माध्यमिक तथा प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन अध्ययन अध्यापनमा जोड दिन लगाइएको छ। बेइजिङ्का सार्वजनिक स्थलहरूमा आवतजावत गर्न पनि कडाइ गरिएको समाचारमा जनाइएको छ। रासस/पीटीआई


