लघुवित्त, सहकारी र साना वित्तीय संस्थामा जनता तथा सदस्यहरूले जम्मा गरेको बचत सुरक्षण गर्न गठन गरिएको ‘बचत सुरक्षण तथा स्थायित्व कोष’ आफैं संकटमा परेको छ। कोषले सुरक्षण गर्नुपर्ने जम्मा दायित्व १५ खर्ब नाघिसकेको छ, तर आफूसँग जम्मा २६ अर्ब मात्रको कोष सञ्चय छ। सुरक्षण गर्नुपर्ने रकमको तुलनामा कोषको क्षमता ६४ गुणा कम हुँदा कोष नै टाट पल्टिने खतरा बढेको छ।
नेपाल राष्ट्र बैंक मातहत सञ्चालनमा रहेको बीसीएची कोषले सहकारी र लघुवित्त वित्तीय संस्थाहरूको बचत जोखिममा पर्दा तिनको सुरक्षण गर्ने जिम्मेवारी लिएको हो। तर, कोषमा आउने योगदान, लगानी व्यवस्थापन र सरकारी चासो अभावले यसको क्षमता अत्यन्तै कमजोर भएको छ। वित्तीय स्थायित्व कायम राख्ने नाममा बनाइएको यो कोष अहिले आफैँ अस्थिर देखिन थालेको विश्लेषकहरूको चेतावनी छ।
राष्ट्र बैंक, सहकारी विभाग तथा सम्बन्धित निकायहरूले पटक–पटक आग्रह गर्दा समेत कोषमा पर्याप्त रकम जम्मा गर्ने र जोखिम व्यवस्थापनका दीर्घकालीन रणनीति ल्याउनेतर्फ कुनै ठोस पहल भएको छैन। यसले गर्दा साना बचतकर्ता र ग्रामीण क्षेत्रका ग्राहकहरूको रकम जोखिममा परेको छ।
विशेषगरी सहकारी क्षेत्रमा पछिल्लो समय देखिएको बचत फिर्ता नपाउने समस्या, लघुवित्तमा उच्च कर्जातर्फ झुकाव, र नियमन अभावले गर्दा बीसीएची कोषको दबाब दिनानुदिन बढिरहेको छ। कोषका श्रोत सीमित हुँदा कुनै ठूलो सहकारी वा लघुवित्त डुबेमा यसको असर सम्पूर्ण वित्तीय प्रणालीमा पर्न सक्ने अवस्था आएको छ।
अहिलेको संरचना, योगदान दर र व्यवस्थापन क्षमताले भविष्यमा आउने संकटको सामना गर्न असम्भवजस्तै देखिएको अर्थविश्लेषकहरूको ठहर छ। तर, सरकार र राष्ट्र बैंकले यसलाई प्राथमिकतामा राख्न नसक्दा संकट झनै गहिरिँदै गएको छ।
वित्तीय स्थायित्वको नाममा बनाइएको कोषको स्थायित्व नै संकटमा पर्दा, यसले बचतकर्ता, सहकारी प्रणाली र समग्र वित्तीय क्षेत्रको विश्वासमा गम्भीर आघात पुर्याउने खतरा देखिएको छ।


