Banijya News

कोरोनाको कारण विश्वमै औषधी अभाव हुनसक्ने डब्लुएचओको चेतावनी

1
1.1K Shares

कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलदै गएपछि औषधी लगायत स्वास्थ्य सामाग्रीहरुको अभाव हुनसक्ने भन्दै विश्व स्वास्थ्य संगठन डब्लुएचओले उत्पादन बढाउन कम्पनीहरुलाई आग्रह गरेको छ । 

तीब्र रुपमा फैलिरहेको कोरोना संक्रमणविरुद्धको लडाईका क्रममा औषधी र स्वास्थ्य सामाग्रीको विश्वमै अभाव हुनसक्ने भन्दै डब्लुएचओले कम्पनी तथा सरकारहरुलाई उत्पादन ४० प्रतिशतले बढाउन आग्रह गरेको हो ।

विश्वमै माग बढ्दै गएपछि सर्जिकल मास्कको मूल्य ६ गुणासम्म बढेको छ । यस्तै, एन–९५ को मूल्य तेब्बरले र प्रतिरक्षात्मक गाउनको मूल्य दोब्बरले बढेको डब्लुएचओले जनाएको छ । कोरोना संक्रमणविरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई मासिक ८ करोड ९० लाख मास्क, ७ करोड ६० लाख पञ्जा र १६ लाख चस्मा आवश्यक पर्ने डब्लुएचओको अनुमान छ ।

यसैबीच अमेरिकाको संघीय रिजर्भ बैंकले विश्वमा छाउनसक्ने आर्थिक मन्त्रीलाई रोक्न भन्दै व्याजदर घटाउने निर्णय गरेको छ । विश्व बैंकले कोरोना विरुद्धको लडाइका लागि भन्दै १२ अर्ब डलर बराबरको सहयोगको घोषणा गरेको छ । विश्वभर कोरोना संक्रमितको संख्या ९१ हजार पुगेको छ । जसमध्ये चीनका मात्र ८० हजार छन् । संक्रमणबाट चीनमा मात्र २ हजार ९ सय ४६ र अन्य मुलुकमा १ सय ६६ जनाको मृत्यु भएको छ । दक्षिण कोरिया, जपान, युरोपेली मुलुक, इरान र अमेरिकामा तीब्र रुपमा फैलिरहेको छ । हालसम्म करिब ८० मुलुकमा संक्रमण फैलिसेकेको छ ।

संक्रमणका कारण इरानमा पर्याप्त चिकित्सक र नर्सहरुकै अभाव भएको छ । इरानमा हालसम्म ७७ जनाको मृत्यु भइसकेको छ । इटलीमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । फ्रान्समा ४ जनाको मृत्यु भएको छ । अमेरिकामा ९ जनाको मृत्यु भएको छ भने संक्रमतिको संख्या १ सय नाघेको छ । इन्डोनेसिया, अर्जेन्टिना र चिलिमा पहिलो पटक संक्रमण फेला परेको छ ।संयुक्त अरब इमिरेट्समा ४ हप्ताका लागि सबै विद्यालयहरु बन्द गरिएको छ । 

1

Scroll to Top