बालुवाटारमा भएको नेकपाका अध्यक्षद्वयसहितका नेताहरूबीचको वार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरूबीचको बैठक सकिएको हो । उनीहरूबीचको वार्ता सकारात्मक रहेको बताएपनि दुबै आध्यक्षले आ–नो अडान नछोडदा भोली पुनः छलफल गर्ने गरी वर्ता सकिएको एक नेताले बताए ।
नेताका अनुसार दुवै अध्यक्षले आ–आफ्ना कुरा खुलेर राखेका थिए । यद्यपि, प्रचण्डले राजीनामा माग्ने र ओलीले दिन्न भने अडान कामय रहेको बताइएको छ । बालुवाटारमा भएको छलफलमा दुबै नेता आआफ्नो अडानमा रहेका कारण बैठक कुनै निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ ।
बैठकमा अध्यक्ष दाहालले ओलीलाई संसद अधिवेशन अन्त्य गर्नुको रहस्यबारे प्रश्न तेस्र्याएका थिए । साथै पार्टी एकीकरण संकटमा पार्ने गरी र पार्टीभित्र सहमति नजुटेका विषयमा अध्यादेश जारी गर्न खोजिएको हो कि भन्ने प्रश्न पनि गरेको बताइएको छ।
पार्टीमा सचिवालय र स्थायी कमिटीका अधिकांश नेतारुले ओलीलाई दुबै पदबाट राजीनामा दिन दबाब बढाएका छन् । पार्टीको निर्णय नमानेको, मनलाग्दी अभिव्यक्तिहरु दिने गरेको तथा पार्टीमा नेताहरुको कुरा नसुन्ने गरेको भन्दै अन्य नेताहरुले ओलीलाई पदबाट हटाउनेसम्मको तयारी गरेका छन् ।
वार्ता सकारात्मक रहे पनि निर्णायक मोडमा नपुगेको अर्को चरणमा बस्ने गरी टुङ्गिएको बताइएको स्रोतको भनाइ छ । ’बैठक सकारात्मक छ,’ स्रोतले भन्य ’फेरि भोलिको स्थायी कमिटी बैठकअघि अर्को चरणमा बसेर सबै विषयमा कुराकानी गर्ने सहमति भएको छ ।’
दुवै अध्यक्षबीच बालुवाटारमा करिब ३ घण्टा वार्ता भएको थियो । छलफलमा अध्यक्षद्वय ओली र प्रचण्डबाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।


