Banijya News

मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक चल्दै

1
1.2K Shares

नेपाल राष्ट्रबैंकले आज(शुक्रबार) दिउँसो आगामी आर्थिक वर्षका लागि तयार भएको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । उच्च व्यवस्थापनबाट पारित भइसकेको मौद्रिक नीतिलाई पारित गर्न अहिले बालुवाटारस्थित राष्ट्र बैंकमा सञ्चालक समितिको बैठक बसिरहेको छ । सो बैठकमा तीव्र सुधारात्मक अजेण्डाहरु समेटिएको मौद्रिक नीतिमा व्यापक छलफल भइरहेको र आजै पारित भई १ बजेसम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रबैंकका एक सञ्चालकले जानकारी दिए ।

आगामी साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयन हुने हुनाले सोही दिनदेखि मौद्रिक नीति पनि कार्यान्वयनमा जाओस् भन्ने गभर्नरको उदेश्य रहेकाले असारमै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । गभर्नर पौडेलले वित्तीय नीति र मौद्रिक नीतिमा समन्वयय हुनुपर्नेमा जोड दिँदै आएका थिए। यसैलाई सन्तुलनमा राख्न पनि बजेट कार्यन्वयनमा जानु अगावै मौद्रिक नीति ल्याउन लागिएको राष्ट्र बैंक स्रोतको भनाई छ । राष्ट्र बैंकले गत जेठ ३० गते बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न रेवतबहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो । एक महिनाको समयावधि पाएको कार्यदलले अनौपचारिक राष्ट्र बैंकलाई सुझावहरू दिएको भएपनि औपचारिक हस्तान्तरण गरेको छैन् । अध्ययन कार्यदलको सुझाब नआउँदै राष्ट्र बैंकले हतारोमा मौद्रिक नीति किन ल्याउन ल्यायो भन्नेमा कौतुहलता जागेको छ ।कार्यदलले आगामी आइतबार प्रतिवेदन गभर्नर समक्ष बुझाउने तयारी गरेको छ । 

उनकाअनुसार सुस्त बनेको अर्थतन्त्रमा प्राण भर्ने उद्देश्यले मौद्रिक नीतिमा धेरै सुधारका घोषणाहरु हुनेछन् । ऋणिहरुलाई राहातदेखि लिएर बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिएको पूँजीको सही परिचालनको बाटो खोल्ने, रियल स्टेटलाई चलायमान बनाउने, पूँजीबजारलाई थप गतिशील बनाउने, बैंक तथा वित्तीय संस्थाहरुको बिग्रँदो बुकलाई सुधार्ने लगायतका थुप्रै अजेण्डा समेटिएका छन् ।

नयाँ बैंकको लाइसेन्स खुल्ला गर्नेदेखि लिएर सेयरधितो कर्जाको सीमा खुकुलो बनाउने, बैंक तथा वित्तीय संस्थाहरुले पूँजीबजारमा गर्ने लगानीका कतिपय अप्ठ्यारा व्यवस्थाहरुलाई खुकुलो बनाउने गरी मौद्रिक नीति तयार भएको छ । देशको अर्थतन्त्रलाई सुस्ततातर्फ धकेल्ने प्रमुख कारक मानिएको रियल स्टेट, पूँजीबजार, चालुपूँजी कर्जा लगायतका विषयहरुमा निकै नै सहज र खुकुलो नीति आउँदैछ । कतिपय पोलिसी दरहरु पनि परिवर्तन हुँदैछन् । समग्रमा बजारमा माग सिर्जना गरी ऋण प्रवाहको गतिलाई ह्वात्तै बढाउने, आर्थिक चहलपहलमा टेवा दिने उद्देश्यले मौद्रिक नीति तयार भएको र सोहीअनुसारका नयाँ व्यवस्थासहितका महत्वपूर्ण घोषणा हुन लागेका केन्द्रीय बैंक स्रोतले जनाएको छ ।

राष्ट्रबैंकको गभर्नर बनेका प्रा.डा. विश्व पौडेलको यो पहिलो मौद्रिक नीति हो । उनी गभर्नर नियुक्त हुँदै गर्दा नै सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने प्रतिबद्धता जनाएका थिए । जसअनुसार वित्त नीतिसँग तारतम्य मिलाएर बजेटको लयमा ताल मिलाउने गरी मौद्रिक नीति उनले तयार गरेका हुन् ।

1

Scroll to Top