यस वर्ष लुम्बिनी प्रदेशमा हालसम्म ९६ प्रतिशत धान रोपाईं भएको छ । प्रदेशका १२ वटै जिल्लामा कुल तीन लाख दुई हजार ९३९ हेक्टर जमिन धान रोपाईंका लागि उपयुक्त छ । साउन १६ गतेसम्म दुई लाख ९० हजार ७०७ हेक्टरमा रोपाईं सम्पन्न भइसकेको छ, जुन ९६ प्रतिशत हो ।
प्रदेशका अधिकांश जिल्लामा ९० प्रतिशतभन्दा बढी रोपाईं सम्पन्न भइसकेको छ भने केही जिल्लाहरू विशेषगरी रोल्पा र बर्दियाले १०० प्रतिशत लक्ष्य पूरा गरेको कृषि विकास निर्देशनालय लुम्बिनी बुटवलका निमित्त प्रमुख रामप्रसाद पाण्डेले जानकारी दिए ।
कृषि विकास निर्देशनालय लुम्बिनी बुटवलले दिएको जानकारी अनुसार बर्दिया र रोल्पामा शतप्रतिशत रोपाईं भएको छ । बर्दिया ५० हजार १५० हेक्टर र रोल्पा जिल्लामा चार हजार ५४७ हेक्टर रोपाईं क्षेत्रमै पूरै रोपाईं सम्पन्न भएको महानिर्देशक पाण्डेले जानकारी दिए । गुल्मीमा भने कुल सात हजार ५३९ हेक्टर धान रोपाईं क्षेत्रफलमध्ये ६ हजार ५४४ हेक्टरमा रोपाईं भएको छ, यो ८७ प्रतिशत हो ।
रुपन्देहीमा ६२ हजार ६२२ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६० हजार ५६७ हेक्टरमा धान रोपिन्छ । ५९ हजार ३५६ हेक्टरमा हालसम्म रोपिएको छ, जसले ९८ प्रतिशत रोपाईं सम्पन्न भएको देखाउँछ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कुल ४० हजार ६३९ हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार ४६० हेक्टरमा धान खेती हुने क्षेत्र रहेको छ । यसमा २० हजार ७० हेक्टरमा रोपाईं सम्पन्न भइसकेको छ । यो ९८ प्रतिशत हो ।
कपिलवस्तु जिल्लामा धान रोपाईं हुने क्षेत्रफल ६५ हजार ८७१ हेक्टर रहेकोमा ६२ हजार ९०७ हेक्टरमा रोपाईं सम्पन्न भइसकेको छ, जुन ९६ प्रतिशत हो । पाल्पामा ८ हजार २१० हेक्टर रोपाईं क्षेत्रफलमध्ये ७ हजार ९१७ हेक्टरमा रोपाईं सम्पन्न भएको छ । यो ९४ प्रतिशत हो ।


