Banijya News

नौबिसे-नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत

1
1.2K Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले उक्त जानकारी दिएका हुन् । ”नौबिसे-नागढुङ्गा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुनेछ”, प्रधानमन्त्री ओलीले भनेका छन् ।

उनका अनुसार हालसम्म सुरुङमार्गको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ । सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै सरकारले केही दिन अघि सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनका लागि दस्तुर निर्धारण गरेको थियो । जसअनुसार संघीय राजधानी प्रवेश गर्ने कार र भ्यानले ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।

साथै मिनिबस र मिनिट्रकलाई राजधानी आउँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले आउँदा २६० र फर्कँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी भारी उपकरणका सवारीसाधनको हकमा भने काठमाडौं आउँदा ६०० र फर्कँदा २०० रुपैयाँ दस्तुर निर्धारण गरिएको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रामा समयको बचत हुनुका साथै ढुवानी मूल्य पनि घट्ने अपेक्षा गरिएको छ । कूल २ दशमलव ६८८ किलोमिटर लम्बाइको उक्त सुरुङमार्गमा तीन दशमलव पाँच मिटर चौडाइका दुई वटा लेन छन् । सुरुङमार्गको दुवैतर्फ नाली पनि बनाइएको छ ।

1

Scroll to Top