ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवका सुनकोशी मरिण र भेरी बबई बहुउद्देश्यीय आयोजनाको ठेक्का यथास्थितिमा राख्न नसकिने बताएका छन्।
मङ्गलबार मन्त्रालयका सचिव, सिँचाइ विभागका महानिर्देशक, दुवै आयोजनाका प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग मन्त्री घिसिङले छललफल गरी आयोजनाका ठेक्का तोडेर नयाँ सिराबाट अगाडि बढ्नुको विकल्प नभएको बताए।
दुवै आयोजनाको निर्माणमा अस्वभाविक ढिलाई भएको देखिएपछि मन्त्री घिसिङले निर्माणमा सङ्लग्न सबै पक्षसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ।
तराई क्षेत्रमा सिँचाइ पुर्याएर कृषिको उत्पादकत्व वृद्धि गरी मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने आयोजनाहरूको निर्माणमा भइरहेको अस्वभाविक ढिलाइले आयोजनाबाट प्राप्त हुने प्रतिफल गुमिरहेको उनको भनाइ छ।
त्यसो हुँदा सबै पक्षलाई गम्भीर भएर काम गर्न समेत उनले आग्रह गरे। भेरी बबईको सुरूङ २०७७ भदौमा निर्माण सकिएको थियो। बाँध तथा विद्युत गृह निर्माणका लागि २०७६ साउनमा गङ्दोङ युतियान–रमण जेभीसँग ठेक्का सम्झौता भएको थियो।


