पछिल्लो आर्थिक वर्षमा नेपालले भारतबाट ७५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको तरकारी आयात भएको छ । मधेशमा पर्याप्त तरकारी उत्पादन हुने भए पनि भिठामोड नाकामार्ग हुँदै मात्र करिब ३३ हजार ८ सय ८७ टन हरियो तरकारी नेपाल भित्रिएको सीमा भन्सार कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा आयात भएका तरकारीको मूल्य ७५ करोड २२ लाख ८८ हजार रुपैयाँ बराबर रहेको उल्लेख छ । भारतबाट भित्रिने तरकारीमा आलु, प्याज, टमाटर, बन्दा, बैगन, काक्रो, लौका, भिण्डीलगायतका मौसमी तरकारी बढी रहेका छन् ।
उपभोक्ता अधिकारकर्मीहरूको भनाइमा स्वदेशमै उत्पादन वृद्धि गर्ने सम्भावना हुँदाहुँदै पनि सरकारले प्रभावकारी नीतिगत पहल नगरेका कारण ठूलो मात्रामा तरकारी आयात गर्नुपर्ने अवस्था आएको हो । उनीहरूका अनुसार आयात बढ्दा भन्सार शुल्क र करका कारण बजार मूल्य समेत बढ्ने गर्छ, जसको मार उपभोक्ताले व्यहोर्नुपरेको छ ।
व्यापारीहरूले भने भारतबाट तरकारी ल्याउँदा कृषि शुल्क र अग्रिम कर शुल्क गरी करिब १४ प्रतिशतसम्म भन्सार तिर्नुपर्ने भएकाले मूल्य उच्च भएको तर्क गरेका छन् । तर, उपभोक्ताहरूले बजार अनुगमन अभाव र व्यापारीको मनपरी मूल्यवृद्धिलाई नै तरकारी महँगो हुनुको मुख्य कारण मानेका छन् ।
मधेश प्रदेशमा बारीभरि हरियो तरकारी उत्पादन हुने भए पनि किसानलाई उचित मूल्य सुनिश्चित हुन नसकेपछि स्वदेशी उत्पादन प्रतिस्पर्धी हुन नसकेको व्यवसायीहरूको धारणा छ । तरकारीमा परनिर्भरता घटाउन सरकारले किसानलाई प्रोत्साहन गर्ने र बजार अनुगमन कडाइ गर्ने आवश्यकता उपभोक्ता संरक्षण संघले औंल्याएको छ ।


