दुई वर्षअघि प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा परेका कञ्चनपुरका विपिन जोशी जीवितै फर्किने सिंगो नेपालको आशा अन्तत: निराशामा अन्त्य भएको छ । २३ असोज ०८० मा हमासले कब्जामा लिएको विपिन दुई वर्ष चार दिनपछि सोमबार कफिन (शव राख्ने बाकस)मा इजरायल फर्काइएका हुन् ।
हमासले सोमबारै २० जीवित इजरायली युद्धबन्दीलाई गाजापट्टीबाट मुक्त गर्यो । तर, उनीहरूसँगै बन्दी बनाइएका विपिन र तीन इजरायलीको भनेर चार शव पठाएको छ । हमास समूहले विपिनसहित चारजनाको शव दक्षिणी गाजा क्षेत्रबाट रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी)मार्फत इजरायली सेनालाई बुझाएको हो । इजरायली सैनिक अस्पतालमा डिएनए परीक्षणपछि मात्रै शव पुष्टि हुने बताइएको छ ।


