Banijya News

एसईईको नतिजा पुनर्योगका लागि ३३ हजारको आवेदन, लापरवाही कि कमजोरी ?

1
1.0K Shares

यसपटक २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाको पुनर्योगका लागि ३३ हजार विद्यार्थीले निवेदन दिएको तथ्य बाहिर आएको छ । यति धेरै विद्यार्थीले कपी पुनर्योगका लागि आवेदन दिनुले एसईईको कपी जाँचमा गम्भिर लापरवाही गरिएको हो वा हतारमा काम गरिँदा गल्ती हुन पुगेको हो भन्ने आम चर्चाको विषय बनेको छ ।

परीक्षामा नम्बर जति आउनुपर्ने थियो, त्यति नआएको र पास मात्रै भएकाहरु धेरैले पुनर्योगको आवेदन दिएको पाइएको छ । नतिजामा चित्त नबुझेका ३३ हजार ८५१ विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रक कार्यालयले पुष्टी गरेको छ । एक महिनामा नतिजा निकाल्ने भनेर हतार गर्दा कयौँ विद्यार्थीहरुको भविष्य अप्ठेरोमा परेको देखिएको छ ।

विद्यार्थीले दिएको निवेदनका आधारमा उनीहरूको उत्तरपुस्तिक खोज्न सुरु गरिएको कार्यालयले जनाएको छ । पुनर्योगको नतिजा प्रकाशन हुन केही समय लाग्ने बताइएको छ । उत्तरपुस्तिका हेर्न समेत पाउने व्यवस्था गरिएको छ । त्यसपछि पुनःपरीक्षणका लागि निवेदन दिन सक्ने व्यवस्था गर्न लागिएको बताइन्छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख २८ गते एसईईको नतिजा सार्वजनिक गरेको थियो । एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । त्यस्तै, एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ‘ननग्रेडेड’ भएका थिए ।

गत चैत २९ गते एसईई परीक्षा सकिएको थियो । एसईईमा पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए । जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र सात जना अन्य विद्यार्थी थिए ।

1

Scroll to Top