Banijya News

विशिष्ट व्यक्तिको सुरक्षामा रहेका भीआईपी सुरक्षाकर्मी धमाधम फिर्ता

1
1.1K Shares

प्रहरी प्रधान कार्यालयले विभिन्न विशिष्ट व्यक्ति (भीआईपी) हरूको सुरक्षा र सेवामा लामो समयदेखि कार्यरत व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) तथा सवारी चालकहरूलाई तत्काल आफ्नो दरबन्दीमा फिर्ता हुन सर्कुलर जारी गरेको छ। असार १८ गते उपत्यका र प्रदेश प्रहरी कार्यालयहरूलाई १ घण्टाको समयसीमा तोकेर पठाइएको उक्त विशेष निर्देशनअनुसार, कार्य विभाग अन्तर्गतको अङ्गरक्षक गणभन्दा बाहिर दरबन्दी भई भीआईपीकहाँ काजमा खटिएका सबै सुरक्षाकर्मी र चालकहरूलाई फिर्ता बोलाइएको हो।

यस निर्णयबारे प्रष्ट पार्दै प्रहरी सह–प्र प्रवक्ता (एसएसपी) दीप शम्सेर जबराले एउटै विशिष्ट व्यक्तिसँग लामो समय बिताएका सुरक्षाकर्मीहरू फिर्ता हुने क्रम सुरु भइसकेको जानकारी दिएका छन । हाल बिदामा रहेका वा भीआईपीहरूसँगै भ्रमणमा निस्किएका कतिपय जनशक्तिको हकमा केही प्राविधिक कठिनाइ भए पनि उनीहरू सबैजना क्रमशः फिर्ता हुने प्रक्रियामा रहेको उनको भनाइ छ।

प्रहरी प्रधान कार्यालयले सुरक्षा संवेदनशीलता र विद्यमान कार्यविधिलाई ध्यानमा राख्दै यो कदम चालेको बुझिएको छ। अबदेखि विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि सम्बन्धित गण र गुल्मबाट विशेष तालिम प्राप्त जनशक्तिलाई मात्र परिचालन गरिने योजना बनाइएको छ। यसका साथै, पूर्व तथा बहालवाला विशिष्ट व्यक्तिहरूमध्ये पनि केवल सरकारी मापदण्डअनुसार चालक सुविधा पाउन योग्य ठहरिएकाहरूलाई मात्र चालक उपलब्ध गराइने र अन्यको हकमा सवारी चालक समेत फिर्ता गरिने नीति प्रहरीले अख्तियार गरेको छ।

1

Scroll to Top