तेज ब्रान्डको दाल उत्पादन तथा बिक्री वितरण गर्दै आएको तेज फुड इन्डष्ट्रिजले एकै वर्षमा साढे १ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको छ। कम्पनीले गत आर्थिक वर्षमा कुल १ अर्ब ६० करोड ४० लाख रुपैयाँको कारोबार गरेको हो। यसअघि सन् २०२४ मा भने कम्पनीले जम्मा २० दिन मात्रै कारोबार सञ्चालन गरेर ९ करोड रुपैयाँको व्यापार गरेको थियो। वित्तीय प्रदर्शनका हिसाबले गत आवमा कम्पनीको सञ्चालन मार्जिन ४ प्रतिशत रहँदा खुद नाफा भने ०.०८ प्रतिशत दर्ता भएको छ।
सन् २०२३ मा स्थापना भएको यस उद्योगले कृषिजन्य वस्तुहरूको उत्पादन तथा प्रशोधनमा मुख्य ध्यान केन्द्रित गर्दै आएको छ। हाल कम्पनीले मोरङको विराटनगर र कैलालीको बौनियामा आफ्ना अत्याधुनिक प्रशोधन प्लान्टहरू सञ्चालनमा ल्याएर विभिन्न किसिमका दालहरू प्रशोधन गरिरहेको छ। आफ्ना यी प्लान्टहरू मार्फत बजारको माग अनुसार गुणस्तरीय दाल प्रशोधन गरी उपभोक्तामाझ पुर्याउने काम कम्पनीले गर्दै आएको छ।
उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ भने कम्पनीले मुख्यगरी छिमेकी मुलुक भारतबाट आयात गर्ने गरेको छ। भारतबाट ल्याइएको कच्चा दाललाई आफ्ना प्रशोधन केन्द्रहरूमा प्रशोधन गरी ‘तेज’ ब्रान्डको नामबाट बजारमा बिक्री वितरण गरिन्छ। यस्तै, कम्पनीले आगामी दिनहरूमा आफ्नो लगानी थप विस्तार गर्दै दालबाहेकका अन्य कृषिजन्य वस्तुहरू पनि प्रशोधन गर्ने अल्पकालीन तथा दीर्घकालीन योजना बनाएको छ।
जितेन्द्र सैनीको नेतृत्व (सीईओ) मा अघि बढिरहेको यस कम्पनीले आफ्नो व्यवसाय विस्तारका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जा लिने तयारी गरेको छ। जसका लागि कम्पनीले कुल १ अर्ब ४० करोड रुपैयाँ बराबरको कर्जा रेटिङ समेत गराइसकेको छ। यस अन्तर्गत कम्पनीले दीर्घकालीन कर्जातर्फ ७० करोड रुपैयाँ र अल्पकालीन कर्जातर्फ ९५ करोड रुपैयाँको रेटिङ प्रक्रिया पूरा गरेको छ।


