नेपालको पहिलो कार्पेट उत्पादक कम्पनी ‘हाइटेक्स कार्पेट’ले आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा करिब १ अर्ब रुपैयाँ (९३ करोड ८० लाख रुपैयाँ) को कारोबार गरेको छ। बजारमा कार्पेटको माग बढेकाले कम्पनीको व्यापारमा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले सुधार आएको छ। यसअघि कम्पनीले सन् २०२५ मा १ अर्ब २ करोड ९० लाख र सन् २०२४ मा ९४ करोड ४० लाख रुपैयाँ बराबरको कुल व्यापार गरेको थियो ।
व्यापार बढेसँगै कम्पनीको नाफा र कार्यक्षमतामा पनि राम्रो सुधार देखिएको छ। अघिल्लो वर्ष ०.५६ प्रतिशत मात्र रहेको खुद नाफा समीक्षा अवधिमा बढेर २.९९ प्रतिशत पुगेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मार्जिन अघिल्लो वर्षको १२.४१ प्रतिशतबाट सुध्रिएर चालु आर्थिक वर्षको ९ महिनामा १८.४४ प्रतिशत पुगेको छ। कम्पनीले हाइटेक्स सेन्थेटिक्स प्रालिसँग सहकार्य गर्दै आफ्नो कारोबार क्षमता थप बढाउने योजना बनाएको छ।
सन् २०१५ मा स्थापित तथा राठी र टिब्रेवाल समूहको संयुक्त लगानी रहेको यस कम्पनीसँग वार्षिक ८० लाख वर्ग मिटर कार्पेट उत्पादन गर्ने क्षमता छ। कम्पनीले अल्माया, पलिनो, रोयल, डाइनेष्टी र सुल्तानजस्ता विभिन्न ब्रान्डमा कार्पेट बिक्री गर्दै आएको छ। कार्पेट निर्माणका लागि आवश्यक पोलिप्रोपिलेन, पोलिस्टर, जुट र नाइलनका धागोहरू टर्की, बंगलादेश, चीन तथा भारतबाट आयात गरिन्छ।
वित्तीय संरचनाका हिसाबले कम्पनीमा ऋणको भार केही उच्च रहेको छ। अघिल्लो वर्ष २.४६ गुणा रहेको कम्पनीको ऋण–पुँजी अनुपात (गियरिङ) बढेर चालु आवको ९ महिनामा २.९० गुणा पुगेको छ। यद्यपि, ब्याज भुक्तानी क्षमता १.५० बाट सुधार भई १.७७ गुणा पुगेको छ भने कुल ऋण र नगद सञ्चितिको अनुपात घट्नु सकारात्मक मानिएको छ। कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १९ करोड ५० लाख र अल्पकालीन कर्जाका लागि ८० करोड ५० लाख गरी कुल २ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ।


