Banijya News

नारायणी अस्पतालका चिकित्सकहरूको सामूहिक राजीनामा: ४० चिकित्सकले छाडे पद

1
1.0K Shares

गत साउन ८ गते वीरगन्जस्थित नारायणी अस्पतालमा डा. प्रमोद राममाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा अस्पतालका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। आक्रमणका घाइते डा. रामको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने दोषीमाथि कारबाहीको माग गर्दै चिकित्सकहरूले देशव्यापी रूपमा ओपीडी सेवा ठप्प पारेका छन्। यसैक्रममा प्रशासनबाट सुरक्षा र न्यायको साटो दुर्व्यवहार भएको आरोप लगाउँदै अस्पतालका करिब ७० चिकित्सकमध्ये ४० जनाभन्दा बढीले मेडिकल सुपरिन्टेन्डेन्टसमक्ष सामूहिक राजीनामा बुझाइसकेका छन् भने बाँकी चिकित्सकहरूले पनि राजीनामा दिने तयारी गरिरहेका छन्।

स्वास्थ्य मन्त्रालयको आग्रह र दोषीलाई कारबाही गर्ने आश्वासनपछि वार्ताका लागि प्रमुख जिल्ला अधिकारीको कार्यालय पुगेका चिकित्सकहरूसँगको वातावरण एकाएक तनावपूर्ण बन्न पुग्यो। वार्ताका क्रममा नेपाल चिकित्सक संघका प्रतिनिले दोषीमाथि कारबाही नभए प्रशासनिक नेतृत्वको राजीनामा मागिन सक्ने चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी आक्रोशित भएका थिए। त्यसलगत्तै सीडीओ र एसपीले अपशब्द प्रयोग गर्दै प्रहरीलाई नियन्त्रणमा लिन आदेश दिएको र बाहिर निस्किँदै गर्दा चिकित्सकहरूको मोबाइल खोसी अपराधीजस्तो व्यवहार गर्दै करिब एक घण्टା नियन्त्रणमा राखिएको चिकित्सकहरूको दाबी छ।

प्रशासनको यस्तो दमनकारी र अपमानजनक व्यवहारपछि असुरक्षित महसुस गरेका सरकारी चिकित्सकहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक (एसपी) पदमा रहुञ्जेल काममा नफर्किने कडा अडान लिएका छन्। यस घटनाले गर्दा नारायणी अस्पतालको आकस्मिक सेवा समेत ठप्प भएको छ भने नेपाल चिकित्सक संघले पनि यसको विरोधमा देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। चिकित्सकहरूले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र आफूहरूका लागि सुरक्षित कार्य वातावरणको सुनिश्चितता नभएसम्म सेवामा नफर्कने चेतावनी दिएका छन्।

1

Scroll to Top