नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरोका कारण अवरुद्ध भएको यातायात सञ्चालन पुनः सुचारु भएको छ।
इच्छाकामना गाउँपालिका–५ खहरे खोलानजिक आज बिहान करिब ८ः३० बजे करिब ४० मिटर माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम सम्पन्न भएपछि दिउँसो १ः१५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको छ।
यसअघि बिहान ११ः१५ बजेदेखि सडक एकतर्फी खुलाएर एम्बुलेन्स र मोटरसाइकललाई आवतजावत गराइएको थियो।
पहिरो पन्छाउन नारायणगढबाट लोडर, स्काभेटर र ब्याकहो तथा मुग्लिनबाट पनि लोडर परिचालन गरिएको थियो।
प्रहरीका अनुसार सडक सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।


