भारतको उत्तरप्रदेशमा सात वटा शव भेटिएको छ । उक्त शव रसुवा बाढीले बगाएको हुनसक्ने अनुमान गरिएको छ । भारत, उत्तर प्रदेशको महराजगञ्जमा गण्डक (नारायणी) नदीबाट चार र कुशीनगरमा तीन जना गरी सात जनाको शव फेला परेको बताइएको छ । बीबीसी हिन्दीका अनुसार, पाँच महिला र दुई पुरुषको शव फेला परेको हो ।
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटबाट ठूलो संख्यामा मान्छे बगाएको छ । नदीमा बगेका शवहरू तीव्र बहावका साथ भारततर्फ आएको आशंका गरिएको छ ।
सशस्त्र सीमा बल (एसएसबी) को उद्धार टोलीले नदीमा निगरानीका क्रममा शवहरू बग्दै गरेको देखेको बताइएको छ । उद्धार टोलीले मोटरबोटको सहायतामा ती शवहरू नदीबाट बाहिर निकालेको उल्लेख छ ।


