Banijya News

चीनतर्फ थुनिएको ताल फुटेपछि रसुवाको नदी तटीय क्षेत्रमा सतर्कता

1
1.0K Shares

चीनको तिब्बत स्वायत्त क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा पहिरो तथा भग्नावशेषका कारण बनेको थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएपछि सम्भावित बाढी तथा त्यसबाट हुन सक्ने क्षतिलाई ध्यानमा राख्दै नदी किनारमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन प्रशासनले आग्रह गरेको हो । अधिकारीहरूका अनुसार माथिल्लो नदी प्रणालीमा आएको परिवर्तनको प्रत्यक्ष प्रभाव नेपालतर्फको तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सतर्कता बढाइएको छ ।

चीनको तिब्बत क्षेत्रमा छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास पहिरोपछि थुप्रिएको माटो, लेदो र भग्नावशेषले नदीको बहाव रोकिँदा ताल बनेको थियो । ती नदीको पानी नेपालतर्फ आएपछि भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले माथिल्लो क्षेत्रमा पानीको बहावमा आउने परिवर्तनले नेपालतर्फ बाढीको जोखिम बढाउन सक्ने बताइएको छ ।

यसअघि सार्वजनिक विवरणअनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको थियो । आगामी तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने अनुमान चीनको जलस्रोत मन्त्रालयले गरेको थियो । पानीको मात्रा निरन्तर बढ्दै गएपछि ताल फुट्ने सम्भावनासँगै तल्लो तटीय क्षेत्रमा जोखिम बढेको थियो ।

तालबाट थप बाढी आउन सक्ने जोखिमका कारण चीनतर्फ भइरहेको उद्धार कार्यसमेत प्रभावित भएको जनाइएको छ । त्यस्तै, चीनको तिब्बतर्फका उद्धार टोलीलाई जोखिमयुक्त क्षेत्रबाट करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको बताइएको छ । चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार, उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको छ ।

ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले स्थानीय तह तथा सुरक्षा निकायमार्फत नदी तटीय क्षेत्रमा सूचना प्रवाह गर्दै नागरिकलाई नदी किनारबाट टाढा गएर सुरक्षित रहन आग्रह गरेको छ ।

1

Scroll to Top