Banijya News

तयारी पोशाक उद्योग संघद्वारा भोटेकोशी बाढीपीडितलाई साढे ३३ लाख सहयोग हस्तान्तरण

1
1.0K Shares

नेपाल तयारी पोशाक उद्योग संघले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरका लागि ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ राहत सहयोग प्रदान गरेको छ। संघका अध्यक्ष पशुपति देव पाण्डे नेतृत्वको टोलीले अर्थ मन्त्रालय पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गरेको हो।

बाढीबाट पुगेको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संघले मृतकहरूमा श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोजी तीव्र बनाउन आग्रह गरेको छ।

आर्थिक सहयोगका अतिरिक्त संघले बाढी प्रभावित क्षेत्रमा न्यानो कपडा तथा तयारी पोशाकलगायतका अत्यावश्यक सामग्रीहरू वितरण गरिरहेको छ। अन्तर्राष्ट्रिय क्रेताहरू र आफ्ना सदस्य उद्योगहरूको सहकार्यमा उपलब्ध गराइएको यो राहतले कठिन परिस्थितिमा परेका नागरिकलाई राहत मिल्ने विश्वास संघले लिएको छ। साथै, संघमा आबद्ध अन्य उद्योगहरूले पनि व्यक्तिगत तथा संस्थागत रूपमा उद्धार कोषमा निरन्तर आर्थिक योगदान पुर्‍याइरहेका छन्।

तत्कालका लागि राहत सामग्री बाँडिए पनि दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्नेमा संघले जोड दिएको छ। प्रभावित समुदायलाई सामान्य जीवनमा फर्काउन स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान, रोजगारीको संरक्षण र नयाँ अवसरको सिर्जना आवश्यक रहेको संघको भनाइ छ। आगामी दिनमा पनि उद्धार, पुनर्स्थापना र जीविकोपार्जनका लागि सरकार तथा सामाजिक संघसंस्थासँग सहकार्य गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता संघले जनाएको छ।

1

Scroll to Top