ग्यासको अवैध कालोबजारी तथा बढी मूल्यमा बिक्री वितरण गरेको अभियोगमा जिल्ला प्रहरी परिसर भक्तपुरले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–२ इटाछेबाट १४ वटा सगर ग्यास सिलिन्डरसहित ४१ वर्षीय राजेश कर्मचार्य र सूर्यविनायक नगरपालिका–३ ब्रह्मनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश साह रहेका छन्। सर्लाहीको बरहथवा–७ घर भएका साहले प्रतिसिलिन्डर रु। २,८०० सम्म लिएर ग्यास बेचबिखन गरिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। कालोबजारी पुष्टि भएपछि साहको पसलबाट ७५ वटा हिमाल ग्यासका सिलिन्डरसमेत जफत गरी दुवै जनामाथि कानुनी कारबाही अगाडि बढाइएको छ।
अर्कोतर्फ, मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा भण्डार गरी राखिएका ६० वटा खाना पकाउने ग्यास सिलिन्डर भने जिल्ला प्रशासन कार्यालयको पहलमा सर्वसाधारणलाई वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा बिहीबार साँझ भएको अनुगमनका क्रममा ती सिलिन्डरहरू नियन्त्रणमा लिई अभाव झेलिरहेका स्थानीयलाई बाँडिएको हो। असोजको लगन र भोजभतेरका लागि चितवनबाट ग्यास ल्याएर राखिएको भए पनि स्थानीय प्रशासनको अनुरोधमा ग्यास सर्वसाधारणलाई उपलब्ध गराइएको ब्याङ्क्वेट सञ्चालकले जनाएका छन्।

