बायोमेड इन्टरनेसनलको व्यापारमा २१ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा गत आर्थिक वर्षमा २१ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२५ मा ८० करोड ४० रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको व्यापार गत आवमा रिबाउन्ड भई ९७ करोड ६० लाख रुपैयाँ पुगेको छ । कम्पनीले सन् २०२४ मा ५८ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा ६४ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा ९० करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ८८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार सन् २०२३ र सन् २०२४ मा लगातार कारोबार घटेको थियो । तर सन् २०२५ र गत आवमा भने कारोबार बढेको हो । कम्पनीको कारोबार सन् २०२५ मा ३७ प्रतिशतले बढेको थियो । कम्पनीको कारोबार बढेपनि पुँजीगत संरचना उच्च ऋणभारमा रहेको छ । कम्पनीको बाह्य दायित्व तथा सञ्चालन मार्जिन ३ गुणा रहेको छ । सन् २०२५ मा कम्पनीको यस्तो मार्जिन ५ गुणा थियो । कम्पनीको ऋण सेवा कभरेज अनुपात २।५ गुणा रहेको छ ।
सन् २००४ मा स्थापना भएको यो कम्पनीले विभिन्न प्रकारका औषधी आयात गरी बजारीकरण र वितरण गर्दै आएको छ । कम्पनीले सर्जिकल टुल्स, अफ्थाल्मिक र न्यूरोलोजीकल प्रोडक्ट, मेडिकल इमेजिङ इक्विपमेन्ट आदि आयात गरी व्यापार गर्दै आएको छ । जर्मनी, चीन, भारत र अन्य देशबाट औषधी समेत आयात गर्दै आएको छ । कम्पनीले औषधीको बिक्रीसँगै अस्पतालहरूको फोहोर व्यवस्थापन तथा लेआउट डिजाइनिङ पनि गर्दै आएको छ ।
कम्पनीमा उमेशकुमार अग्रवाल र चेतन अग्रवालको बराबर स्वामित्व छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६९ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले १३ करोड ५० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि एलबीबी प्ल्स र ५६ करोड २० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि एफोर रेटिङ प्राप्त गरेको छ ।

