सम्भावित अविरल वर्षाका कारण भोलि बिहीबारदेखि असोज १२ गते सोमबारसम्म रातिको समयमा तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरिएको छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै सम्भावित अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै यात्रामा विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।
महासंघले यातायात सञ्चालन गर्नुअघि सम्बन्धित सडकको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आफ्ना सदस्य, यातायात व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ ।
विशेषगरी रातिको समयमा सडकको अवस्था यकिन गर्न कठिन हुने र बाढी तथा पहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले अत्यावश्यकबाहेक राति तथा लामो दूरीको यात्रा नगर्न महासंघले सुझाव दिएको छ । साथै, यात्रा गर्नै परे मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र सतर्कता पालना गर्न अनुरोध गरेको छ ।
यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा तथा लामो दूरीको यात्रा नगर्न सरोकारवालालाई आग्रह गरेको थियो ।

