Banijya News

प्रधानमन्त्री बन्ने चर्चामा रहेका बालेनको नालीबेली !

1
1.2K Shares

स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका बालेन शाहले विक्रम संवत् २०७९ को स्थानीय तह निर्वाचनमा अप्रत्याशित नतिजा निकाल्दै काठमाडौं महानगरपालिकाको प्रमुख पद हात पारे । स्थापित राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै उनले नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहलाई पराजित गरेका थिए । निर्वाचन परिणामअनुसार शाहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ४३१ मतमै चित्त बुझाउनुपर्‍यो । त्यस्तै, एमालेबाट उम्मेदवार बनेका केशव स्थापित तेस्रो स्थानमा सीमित भए ।

स्थापित दलहरूलाई हराउँदै बालेनको उदय भएपछि उनको चर्चा नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत हुन थाल्यो । ३२ वर्षको उमेरमै मेयर बनेका लोकप्रिय र्‍यापर तथा इन्जिनियर बालेन स्वदेशका युवादेखि विदेशमा रहेका नेपालीहरूमाझ आशाको पात्रका रूपमा देखिए । कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएका, संगठन र अनुभव दुवै नहुने व्यक्तिले राजधानीको नेतृत्व सम्हाल्नु धेरैका लागि चकित पार्ने विषय बन्यो । तर, उनको राजनीतिप्रतिको सोच अचानक जन्मिएको भने थिएन ।

वि.सं. २०७४ को स्थानीय निर्वाचनको समयमा सामाजिक सञ्जालमा उनले लेखेको एक अभिव्यक्तिले त्यसको संकेत गर्छ । उक्त लेखमा उनले आफू मतदान नगर्ने र भविष्यमा आफैं उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका थिए । देश कसरी सुधार्न सकिन्छ भन्ने स्पष्ट धारणा रहेको उल्लेख गर्दै उनले विकासका लागि अरूमा निर्भर नहुने अठोट सार्वजनिक रूपमै व्यक्त गरेका थिए ।

काठमाडौंमा जन्मिएका बालेनको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक छैन । हालै निधन भएका उनका पिता राम नारायण शाह आयुर्वेदिक चिकित्सक थिए । उनकी पत्नी स्वास्थ्य सेवामा संलग्न छिन् भने अन्य पारिवारिक सदस्य बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत छन् । उनले काठमाडौंको ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका हुन् भने कर्नाटकबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् ।

वि.सं. २०७२ को विनाशकारी भूकम्प र त्यसपछि नयाँ संविधान जारी भएपछि भारतबाट गरिएको अघोषित नाकाबन्दीका क्रममा बालेन सामाजिक अभियन्ताका रूपमा सक्रिय बने । भूकम्पपीडितका घर–घरमा राहत सामग्री पुर्‍याउने काममा उनी प्रत्यक्ष रूपमा खटिएका थिए ।

काठमाडौं महानगरपालिकाको मेयरका रूपमा रहँदा शिक्षा, स्वास्थ्य, शहरी व्यवस्थापन लगायतका क्षेत्रमा केही सुधारात्मक काम अघि बढाएका बालेन अब राष्ट्रिय राजनीतितर्फ कदम चाल्ने तयारीमा देखिएका छन् । प्रधानमन्त्री बन्ने सपनासहित चुनावी प्रतिस्पर्धामा उत्रिन तयार भइरहेका उनीका लागि भने दशकौँदेखि राष्ट्रिय राजनीतिमा जरा गाडेर बसेका पुराना दलहरूलाई परास्त गर्नु सहज चुनौती भने होइन ।

1

Scroll to Top