Banijya News

प्रतिनिधिसभामा आठ अध्यादेश पेश, रोक्ने रणनीतिमा विपक्षी दल

1
1.1K Shares

प्रतिनिधिसभाको बर्खे अधिवेशन सिंहदरबारस्थित नयाँ संसद् भवनमा आज (सोमबार)देखि सुरु भएको छ । सभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ८ अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले ३ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस गरिन् । मन्त्री गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ को प्रतिस्थापन विधेयक पेस गरेकी हुन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गरे । त्यस्तै, सभामा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ समेत पेस भएको छ ।

त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका हुन् ।

बैठक सुरु हुनासाथ उठेर विरोध जनाएका विपक्षी दलका सांसदहरूले सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रिय सभाबाट रोक्ने रणनीतिमा छन् । प्रतिनिधिसभा अधिवेशन स्थगन गरी अध्यादेश ल्याइएको भन्दै असन्तुष्टि जनाइरहेका दलहरू कुन–कुन अध्यादेशलाई अस्वीकृत गर्ने भन्ने विषयमा आन्तरिक छलफलमा छन् ।

तीमध्ये संवैधानिक परिषद् र सार्वजनिक पदाधिकारीसम्बन्धी दुई अध्यादेशलाई लक्षित गर्दै अस्वीकृत गर्ने विषयमा विपक्षी दलहरूबीच अनौपचारिक समझदारी बनाउने प्रयास भइरहेको छ । संवैधानिक व्यवस्थाअनुसार कुनै एक सदनले पनि अध्यादेश अस्वीकृत गरे त्यो स्वतः निष्क्रिय हुन्छ ।

तर, प्रतिनिधिसभामा सरकार समर्थक बहुमत बलियो भएकाले राष्ट्रिय सभालाई निर्णायक थलोका रूपमा हेरिएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा विपक्षी दलहरू उल्लेखनीय सङ्ख्यामा छन्, जसमा काँग्रेस, एमाले, नेकपाका नेता प्रमुख रूपमा सक्रिय छन् । तर, सबै अध्यादेश एकै पटक अस्वीकृत गर्ने कि छनोट गरेर अघि बढ्ने भन्नेमा विपक्षी दलहरू अझै एकमतमा पुगेका छैनन् ।

संवैधानिक विज्ञहरूका अनुसार दुवै सदनबाट स्वीकृत नभएको अध्यादेश स्वतः निष्क्रिय हुने भएकाले सरकारले प्रतिनिधिसभामा मात्र भरोसा गरेर अघि बढ्न सक्ने अवस्था देखिँदैन । विपक्षी दलहरू विशेषगरी संवैधानिक परिषद्को गणपूरक सङ्ख्या घटाउने र सार्वजनिक पदाधिकारी हटाउने प्रावधानलाई विवादास्पद भन्दै ती अध्यादेशलाई अस्वीकृत गर्ने पक्षमा देखिएका छन् ।

1

Scroll to Top