Banijya News

आगोले घर जलायो, तर स्मृति र सिर्जनाको विरासत बचिरह्यो : वसन्त चौधरी

1
1.0K Shares

प्रख्यात उद्योगी तथा साहित्यकार वसन्त चौधरीले गत वर्षको हिंसात्मक घटनामा आफ्नो पुर्ख्यौली घरसँगै जीवनभर संकलन गरेका बहुमूल्य साहित्यिक सम्पदा गुमाएको पीडादायी अनुभव सार्वजनिक गरेका छन्। घटनाको एक वर्ष पूरा भएको अवसरमा उनले सामाजिक सञ्जालमार्फत विगत र वर्तमानका दुई फरक तस्वीर साझा गर्दै भौतिक संरचना नष्ट भए पनि स्मृति, इतिहास र सांस्कृतिक विरासत कहिल्यै समाप्त नहुने सन्देश दिएका छन्।

उनले सार्वजनिक गरेका तस्वीरमध्ये एउटा तस्वीरमा वर्षौँदेखि परिवारको आश्रय बनेको घरको पुरानो स्वरूप देखिन्छ भने अर्कोमा आगलागीपछि बाँकी रहेका भग्नावशेषहरू देख्न सकिन्छ। ती तस्वीरहरू केवल भवनको परिवर्तनको कथा नभई एक परिवारको इतिहास, संघर्ष र भावनात्मक सम्बन्धको प्रतीकका रूपमा प्रस्तुत भएका छन्।

चौधरीका अनुसार उक्त घर उनका बुबाले करिब पाँच दशकअघि अथक मेहनत र समर्पणका साथ निर्माण गरेका थिए। समयसँगै त्यो घर केवल बसोबासको थलोमा सीमित रहेन, परिवारको पहिचान, संस्कार र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको स्मृतिको केन्द्र बन्यो। तर आन्दोलनको नाममा भएको हिंसात्मक गतिविधिले केही क्षणमै त्यो सम्पूर्ण इतिहासलाई खरानीमा परिणत गरिदियो।

उनले घरसँगै आफ्नो निजी पुस्तकालय पनि गुमाउनुपरेको उल्लेख गरेका छन्। वर्षौँको अध्ययन, अनुसन्धान र साहित्यप्रतिको समर्पणबाट संकलित पुस्तकहरू, दस्तावेजहरू तथा प्रकाशनको तयारीमा रहेका पाण्डुलिपिहरू आगोमा नष्ट हुँदा आफूले अपूरणीय क्षति व्यहोरेको उनको भनाइ छ। साहित्यिक सिर्जनामा बिताएको लामो समय, विभिन्न सम्मान तथा उपलब्धिका चिन्हहरू समेत त्यही आगलागीमा हराएका थिए।

उनका अनुसार त्यो क्षति केवल भौतिक वस्तुको नोक्सानी थिएन। त्यससँगै जोडिएका भावना, सम्झना, संघर्षका कथा र भविष्यका योजनाहरू पनि प्रभावित भएका थिए। आगोले पुस्तकका पाना मात्र जलाएन, धेरै अधुरा सपना र सिर्जनात्मक यात्राका महत्वपूर्ण अध्यायहरू पनि समाप्त गरिदियो। घटनाको त्यो क्षण सम्झँदै उनले आफ्नै आँखाअगाडि सबै कुरा नष्ट हुँदै जाँदा आफू पूर्ण रूपमा असहाय बनेको बताएका छन्।

यद्यपि, एक वर्षपछि पनि उनले निराशाभन्दा आत्मबल र आशाको सन्देश दिएका छन्। हरेक वर्ष यही दिन आफू उक्त स्थानमा पुगेर जलेका स्मृतिहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने र हराएका सिर्जनाहरूलाई शब्दमार्फत पुनर्जीवित गर्ने संकल्प दोहोर्‍याउने बताएका छन्। उनका लागि त्यो स्थान अब केवल भग्नावशेष होइन, इतिहास र आत्मीयताको प्रतीक बनेको छ।

चौधरीले हिंसा र विनाशले भवन, पुस्तक वा भौतिक सम्पत्ति नष्ट गर्न सक्ने भए पनि मान्छेको मनमा बसेका स्मृति, संस्कार र विरासतलाई समाप्त गर्न नसक्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार वास्तविक सम्पत्ति इँटा, सिमेन्ट वा कागजमा होइन, मानिसको चेतना र स्मृतिमा सुरक्षित हुन्छ। त्यसैले आगोले घर जलाए पनि परिवारको इतिहास, साहित्यप्रतिको समर्पण र सिर्जनात्मक यात्राको विरासत अझै जीवित रहेको उनको विश्वास छ।

उनी लेख्छन्
घर खरानी भयो,
विरासतको कथा हराएन।
आगो त निभेर गयो,
तर खरानीको ताप सेलाएन।
पर्खालहरू सबै ढले,
तर स्वरूप ढल्न सकेन।
जताततै आफ्नै छाया देख्छु,
अतीतको त्यो लप्का अझै निभेन।
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
आजभन्दा ठीक एक वर्षअघि, परिवर्तनका नाममा सल्केको हिंसाको डढेलोले देशलाई लपेट्दै लग्यो। देशभरिका कैयौँ भौतिक संरचनासँगै हाम्रा बुबाले करिब पचास वर्षअघि, अत्यन्तै कठिन समयका बाबजुद बडो उत्साहले आफ्ना भावी पुस्ताका लागि निर्माण गर्नुभएको त्यो पुर्खौली घर मेरै आँखाअगाडि खरानी भयो।
त्यो केवल इँटा, सिमेन्ट र काठले ठडिएको फगत एउटा घर मात्र थिएन। त्यो त हाम्रा प्रिय आमाबुबाको न्यानो सामीप्यता थियो, हाम्रो परिवारका अनेक पुस्ताको हाँसो-आँसु, संस्कार, पहिचान र सिङ्गो इतिहास सुरक्षित थियो।
त्यो दिन घरका कोठाहरू मात्र जलेनन्, पचास वर्षभन्दा लामो समयसम्म शब्द-शब्द जोडेर सँगालेको मेरो प्रिय पुस्तकालय पनि ध्वस्त भयो। त्यो मेरो साहित्यिक यात्राको मौन साक्षी, मेरो सिर्जनात्मक ऊर्जाको स्रोत र मेरा एकान्तहरूको सबैभन्दा आत्मीय साथी थियो।
पाँच दशकको साधनाका क्रममा प्राप्त सम्मान, पदवी र विभूषणका चिनोहरू त खरानी भए नै, प्रकाशनको पर्खाइमा रहेका कैयौँ अमूल्य पाण्डुलिपिहरू पनि मेरै अगाडि अक्षर-अक्षर गरेर जले। आफ्ना वर्षौँका अनुभूति र अधुरा सपनाहरू धुवाँ बनेर उडेको हेर्नुबाहेक म असहायसँग अर्को कुनै विकल्प थिएन।
त्यही भग्नावशेषको बीचमा उभिएर मैले मनमनै एउटा प्रण गरेको थिएँ– “हरेक वर्ष आजकै दिन, यसै भूमिमा आएर आफ्ना जलिसकेका स्मृतिहरूलाई शब्दको तर्पण दिनेछु।”
यी दुवै तस्वीर एकै ठाउँका हुन्। एउटा हिजोको अतीत, अर्को आजको वर्तमान। अगाडि उभिएको मानिस त उही हो, तर पछाडिको मेरो संसार पूर्ण रूपमा फेरिएको छ।
विध्वंसको आगोले संरचना त जलाउन सक्छ, इतिहास र विरासत होइन। किनभने, अन्तसमा कुँदिएका स्मृतिहरू कहिल्यै खरानी हुँदैनन्!

 

1

Scroll to Top